पर्वत/नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले काँग्रेसभित्र एकता र सहअस्तित्वको आधारलाई संस्थागत गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री जोशीले उक्त कुरा वताउनु भएको हो । नेता जोशीले निर्वाचनपूर्व फरक फरक समूहबाट निर्वाचनमा प्रतिष्पर्धा गरेको भएपनि अबको दिनमा सबै काँग्रेसको एउटै दृष्टिकोण हुनुपर्ने वताउनु भएको थियो । ‘प्रतिस्पर्धामा गएपछि एउटाले जित्छ, एउटाले हार्छ तर जितेकाले हारेकोलाई पनि सँगै लिएर हिँड्ने वातावरण तयार गर्नुपर्छ ।’- सहमहामन्त्री जोशीले भन्नुभयो । उहाँले आसन्न निर्वाचनमा गुटका आधारमा नभएर क्षमता र लोकप्रियताको आधारमा टिकट दिनुपर्ने कुरामा समेत जोड दिनुभएको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका नवनिर्वाचित पार्टी सभापति युवराज जोशीले पर्वत काँग्रेसमा अब कुनै गुट नरहेको दावी गर्दै सबैलाई एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य सीता काफ्ले लामिछानेले जित्नेले दम्भ र हार्नेले प्रतिशोध नगरीकन पार्टीलाई अघि बढाउन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बसन्तबहादुर सिके, नेपाली काँग्रेसका क्षेत्रीय सभापति राजकुमार क्षेत्री, महाधिवेशन प्रतिनिधि मुना शर्मा लामिछाने र नेपाली काँग्रेस खुर्कोटका सभापति तीर्थप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।
पार्टी सभापति युवराज जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपसभापति डाक्टर चूडामणि शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टी सचिव गुप्तनिधि शर्माले गर्नुभएको थियो ।
नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा आज मेलमिलाप दिवस मनाइएको हो ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्केका थिए।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायत नेताले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४५ वर्षअघि स्वदेश फर्केका थिए। देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्केका थिए।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको ‘कू’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए। त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४५ वर्षअघि आजैका दिन कोइरालालगायत नेता नेपाल फर्केका थिए।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो। विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो।







