पर्वत/विभिन्न संघ संस्था तथा व्यक्तिहरूले जलजला गाउँपालिकामा स्वास्थ्य सामग्रीहरू सहयोग गर्ने क्रम जारी छ । कोरोना महामारीको उच्च जोखिममा जलजलाबासी नागरिकको स्वास्थ्य र सुरक्षाको लागि गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)द्वारा गरिएको सहयोगको आह्वानपछि दाताहरूले सहयोगको हात बढाएका हुन् ।
यसैक्रममा आइतबार पनि गाँउपालिकालाई ८ थान अक्सिजन कन्सेन्ट्रेटर, पिपीई सहित माक्स र सेनिटाईजर लगायत करिव रु १० लाखको स्वास्थ्य सामाग्री उपलब्ध भएको छ । उक्त स्वास्थ्य सामग्री गाँउपालिका वडा न- ७ धाइरिङ , लामाबगरमा जन्म भै हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाडौमा एमवीवीएस अध्ययनरत राजेश शर्मा पौडेलको पहलमा नेपाल मेडिकल एसोसियसन मार्फत उपलव्ध भएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभएको छ । अध्यक्ष मल्लले गाउँपालिकाको आग्रहलाई स्वीकार गरि स्वास्थ्य सामग्री सहयोग गर्ने सबै दाताहरूलाई आभार प्रकट गर्नुभएको छ ।अध्यक्ष मल्लले सामग्री उपलब्ध गराउन समन्वय गर्नुहुने ओम शर्मा पौडेललाई समेत धन्यवाद दिनुभएको छ ।
गाउँपालिकालाई यसअघि पनि अध्यक्ष मल्लको पहलमा नेपाल सरकारका मूख्य सचिव शंकरदास वैरागीले झण्डै २० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको थियो भने अन्तर्राष्ट्रिय पर्वत सेवा समाजद्धारा पनि गाउँपालिकालाई स्वास्थ्य सामग्री यसअघिनै उपलब्ध भएको छ । यसैबीच अध्यक्ष मल्लले हालसम्म सहयोग पुर्याउनुहुने देश तथा विदेशमा रहनुहुने सहयोगदाताहरुलाई एकमुष्ट धन्यवाद दिँदै मुलुकमा कोरोना महामारीको नयाँ नयाँ भेरियन्ट देखा परेको अवस्थामा अझै सतर्क र तयारीका साथ रहनुपर्ने वाध्यकारी अवस्था गाउँपालिकालाई रहेको भन्दै सहयोग गर्ने सबै संघ संस्था र दाताहरूलाई गाउँपालिकाको विधिभित्र रहेर एकद्वार प्रणाली मार्फत सहयोग गरिदिनु हुन आह्वान गर्नुभएको छ ।







