पर्वतमा प्रचण्ड-नेपाल समूहको भेला : आधिकारिक नेकपा आफूहरु भएको दावी

139

पर्वत/नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधब समुहको पर्व जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलामा बोल्ने नेताहरुले आधिकारिक नेकपा आफूहरु भएको दावी गर्दै कोही कार्यकर्तालाई विचलित नभइ पार्टीको मूलधारमा रहन अपिल गरेका थिए । उनीहरुले केपी ओलीको सर्वसत्तावादी कदमविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । भेलाले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक घोषणा’ खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने माग गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल ठकुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले चालेको कदमको जति नै भर्सना गरेपनि कम हुने बताउनुभयो । उहाँले केपी शर्मा ओली निरंकुताको मतियार रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य गणेश शर्मा पौडेलले ओलीले म नै राज्य हो भन्ने सोचेर चालेको कदम जनता माथिको विश्वसघात भएको बताउनुभयो । पौडेलले जनताको मतलाई प्रधानमन्त्री ओलीले अपमान गरेको बताउँदै निरंकुशताका बिरुद्ध सशक्त रुपमा प्रतिबाद गर्न र संबिधान बचाउन आव्हान गर्नुभयो ।
भेलामा बोल्दै प्रदेश कमिटिका सदस्य मोति पौडेलले केपी ओलीले चालेको कदम पूर्ण रुपमा असंबैधानिक, प्रतिगामी र निरंकुश उन्मुख भएकाले प्रतिनिधी सभा पूर्नस्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा नेकपाका नेता कृष्ण प्रसाद पराजुली, प्रदेश कमिटि सदस्य केशब कुँवर, मनरुपा सुबेदी, जेष्ठ कम्यूनिष्ट मन्चका पूर्व सदस्य तोयनाथ चालिसे, नेकपाका नेता उदय सुबेदी लगायतले सम्बोधन गर्नुभयो ।
नेकपा पर्वतका सचिब सुदिप कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन, कार्यालय सदस्य भक्त कुँवर र स्वागत कार्यालय सदस्य पदमपाणी शर्माले गर्नुभएको थियो ।भेलाले ५ बुँदे प्रस्ताब पारित गर्दैै आगामी पुस १४ गते जिल्लामा बिरोध कार्यक्रम सम्पन्न गर्ने भएको सचिबालय सदस्य खुम सुबेदीले जानकारी दिनुभयो ।