कम्युनिष्ट पार्टीमा खैलाबैला : नेकपा पर्वतकी जिल्ला सदस्य मल्ल नेपाली काँग्रेसमा प्रवेश

130

पर्वत/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेतृ शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गत स्थानीय निर्वाचनमा नेकपाकाबाट उम्मेदवार समेत रहेकी मल्ल नेकपा पर्वतको जिल्ला सदस्य थिइन ।

जलजला गाउँपालिका–४ मा तत्कालीन माओवादीबाट वडा सदस्यमा उम्मेदवार बनेकी मल्ल मंगलवार औपचारिक रूपमै कांग्रेसमा प्रवेश गरेकी हुन् । मल्ललाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले कांग्रेसमा स्वागत गरेका थिए । कांग्रेस प्रवेश गरेकी नेतृ शुभा मल्ल जलजला गाउँपालिकाकी समाजसेवी पनि हुन् । जलजला गाउँपालिका– ४ मा नेपाली कांग्रेसको वडा कार्यालयमा आयोजित नेपाल महिला संघ वडा समिति गठन कार्यक्रममा कांग्रेसमा मल्लले पार्टी प्रवेश गरेकी हुन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गरेकी नेतृ मल्लले जनताले विश्वास गरेर कम्युनिस्टहरुलाई झण्डै दुईतिहाइ बहुमत दिएपनि कम्युनिस्टहरुले मुलुकमा गरी खान नसक्ने स्पष्ट पारिन् । नेतृ मल्लले देशभरका कम्युनिस्टहरूलाई नेकपा छाडेर कांग्रेसमा प्रवेश गर्न अपिल समेत गरेकी छिन् । नेतृ मल्लले कम्युनिस्टका मीठा कुराहरुको भ्रममा नपर्न अनुरोध गर्दै कम्युनिस्टले काम नगर्ने र कुरा मात्रै गर्ने बताइन् ।