‘एक घर एक पिसिआर’ अभियान पछि जलजला गाउँपालिकाले ‘एक वडा एक एम्बुलेन्स’ अभियान सञ्चालन गर्दै

640

पर्वत/देशमा दुईतिहाइको सरकार नागरिकको स्वास्थ्य समस्यालाई नजरअन्दाज गरेको बेला कोभिड-१९को महामारीबाट नागरिकलाई सुरक्षित राख्न ‘एक घर एक पिसिआर’ अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले अब सबै नागरिकको स्वास्थ्य समस्या र त्यसको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने अभियान सुभारम्भ गरेको छ ।

गाउँपालिकाको एउटा मात्रै एम्वुलेन्सले सबै वडाका नागरिकहरूलाई सेवा दिन असम्भव भएको भन्दै गाउँपालिकाका सबै वडाहरूमा एम्वुलेन्स सेवा विस्तार गर्ने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । यो अभियान अन्तर्गत सोमवार रोटरी क्लब अफ पोखरासँग थप एक एम्वुलेन्सका लागि सम्झौता भएको छ भने विभिन्न दातृ निकाय र भारतीय राजदुतावासको सहयोग र सहकार्यमा यो अभियान सफल बनाउने लक्ष्य लिइएको मल्लले जानकारी दिनुभयो । उहाँले प्रत्येक नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टीका लागि यसअघि पनि गाउँपालिकाले निशुल्क सेवा प्रदान गर्दै आएको वताउनु भयो । गाउँपालिकाका नागरिकको मात्रै नभएर छिमेकी कुश्मा नगरपालिका र मोदी गाउँपालिकालाई समेत जलजला गाउँपालिकाले निशुल्क एम्वुलेन्स सेवा दिँदै आएको अध्यक्ष मल्लले दाबी गर्नुभयो । ‘कोभिड-१९ को महामारी र अन्य स्वास्थ्य जटिलतामा हामीले जलजलाको मात्रै समस्यालाई हेरेका छैनौ कुश्मा, मोदी र जिल्लाका अन्य स्थानीय तहमा समेत सहयोग गरेका छौं ।’- अध्यक्ष मल्लले भन्नु भयो ।

कोरोना महामारीको शुरूवात देेखिनै निकै सक्रियताका साथ लाग्नुभएका अध्यक्ष मल्लले व्यक्तिगत रूपमै लाखौंको स्वास्थ्य सामग्री खरिद गरि जिल्लाका सातैवटा स्थानीय तहमा निशुल्क वितरण गर्नुभएको थियो । जिल्लाका अन्य स्थानीय तहको तुलनामा आफ्नै नगर प्रहरी भर्ना देखि एक घर एक पिसिआर कार्यक्रम लगायत अन्य नयाँ र जनप्रिय कामहरू गरेर चर्चामा आउनुभएका अध्यक्ष मल्ल र जलजला गाउँपालिकाको यो एक वडा एक एम्वुलेन्स अभियानले गाउँपालिकाबासीमा नयाँ खुसी थप्ने अपेक्षा गरिएको गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं काँग्रेसका युवा नेता यम शर्मा पौडेलले वताउनु भयो ।