पर्वत/फलेवास नगरपालिकाले सातौ नगरसभा सोमवारदेखि शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नका लागि सोमवारदेखि सभा शुरु भएको हो ।
नगरपालिकाको सोमवार बसेको सातौ नगरसभाबाट आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभामा नगरप्रमुख पदमपाणी शर्माले नगरको विकास र समृद्धिमा जोड दिनेगरी विभिन्न महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा मुख्य रुपमा स्वास्थ, शिक्षा, कृषि र रोजगारमा बिशेष जोड दिएको शर्माले बताउनुभयो । त्यस्तै खानेपानी, सिचाइ, बिद्युत, उद्योग, पर्यटन, वातावरण, खेलकुद लगाएको क्षेत्रमा सबै वडामा आवश्यकता र औचित्यका आधारमा समान तरिकाले विकासका कार्य संचालन गरिने उहाँले बताउनुभयो । नगरमा कोरोनाको संक्रमण न्यून रहेको बताउदै बिदेशबाट घर फर्किएका युवालाई उनिहरुको जिविकोपार्जनका लागि रोजगारीको अवसर सृजना गर्ने बताउनुभयो । सुशासन र पारदर्शितामा जोड दिदै नगरपालिकाले दिगो विकासका लागि दीर्घकालीन सोचका साथ अगाडि बढेको र निर्वाचनका बेला नगरवासीसंग गरेको प्रतिबद्धता, गुरुयोजना निर्माण, गुरुयोजनाले तय गरेको योजनाबद्ध विकास, आवधिक र वार्षिक योजनामा केन्द्रित रहेर काम गरेको शर्माले बताउनुभयो ।
बहुआयामिक रुपमा गत बर्षदेखि नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी रुपमा संचालन गरिने भएको छ । नगरको आर्थिक विकास , सामाजिक विकास, दिगो पुर्वधार विकास र वातावरणीय विकासका लागि सामाजिक जागरणको रुपमा उक्त कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । कृषिका विभिन्न कार्यक्रम, एक वार्ड एक कृषि फार्म, एक वडा एक उद्योग, एक वडा एक पशु फार्म, एक घर एक फलफुल बगैचा लगाए कृषिमा अनुदानका कार्यक्रम संचालन गरिएको र ती कार्यलाई निरन्तरता दिइने बताइएको छ । बहुप्रतिष्ठित प्रस्तावको रुपमा नगर कार्यपालिकाबाट अगाडी बढाइएको कालीगण्डकी वहुउद्देश्यीय पुर्व सम्भाव्यता अध्ययन भैसकेको र ८४४ मेघावाट बिद्धुत उत्पादन हुने अनुमान भएको सो परियोजनालाई प्रारम्भिक अध्ययन गर्न बिद्धुत विकास बिभागबाट ग्लोबल टेन्डर आह्वान भै डिपिआर निर्माण गर्ने कम्पनीको रुपमा एसएमइसि इन्टरनेसनल जेभी कन्सलटेन्सी जेभीले कार्य प्रारम्भ गरेको नीति तथा कार्यक्रममा उल्लेख्य गरिएको छ ।
नगरभित्र रहेका सबै बाहिरी,भित्री र सेन्टर चक्रपथको निर्माण तथा सुधार गर्दै नगरका सबै वडाका नागरिकलाई कम्तिमा ५ मिनेटको हिडाइमा सडकमा पुग्ने गरि सडक निर्माण गरिएको उहाँले बताउनुएको छ । यातायात संजालिकरणलाई पुर्णता दिन नगरका विभिन्न नदी तथा खोलामा मोटरेबल पुल निर्माण भएको बताउनुभयो । नगरको सर्बाङगीण विकासका लागि अगाडि सारिएका नीति तथा कार्यक्रमलाई प्रभावकारी तरिकाले संचालन गरिने नगरप्रमुख शर्माले बताउनुभएको छ । नीति तथा कार्यक्रममा टिप्पणी गर्न चाहनेले सदस्यले अर्को नगरसभामा टिप्पणी पेस गर्न आग्रह गरिएको छ । अर्को नगरसभा आगामी असार १० गते संचालन हुने र उक्त सभाबाट आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिने बताइएको छ ।






