काँग्रेस नेता जोशीद्वारा आयुर्वेदिक अस्पताल फलेवासलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पर्वत/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले फलेवासमा रहेको जिल्ला आर्युवेदिक अस्पताललाई थर्मलगन र पिपिई सेट हन्तान्तरण गर्नुभएको छ । सवैको ध्यान सदरमुकाममा रहेको स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा गएका बेला अस्पताललाई पहिलोपटक दुई थान पिपिई र थर्मल गन हस्तान्तरण गरिएको हो । काँग्रेस नेता जोशीले उक्त सामाग्री शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत आयुर्वेदिक अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।

आर्युवेद अस्पतालमा पनि दैनिक विरामीहरु उपचारका लागि आउने र आवश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा बिरामीको चेकजाँचमा कठिनाई आएको गुनासो आएपछि उक्त सामाग्री सहयोग गरिएको काँग्रेस केन्द्रीय सदस्य जोशीले बताउनुभयो । सो अवसरमा जोशीले जिल्लामा संक्रमितको संख्या बढ्दै गएको र स्वास्थ्यकर्मीहरुमा समेत पोजेटिभ देखिएपछि थप सचेत र सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । जोशीले लकडाउनलाई व्यवस्थित वनाउन, भौतिक दुरी कायम गर्न, नागरिकहरु हिडडुल गर्दा माक्स, स्यानिटाईजरको उचित प्रयोग गर्नका लागि जनचेतना फैलाउन प्रशासनलाई आग्रह गर्नुभयो । त्यसैगरी संक्रमितको सख्ंया बढ्दै गएकोले अस्पतालको आईसोलेशन बेडको संख्या बढाउन, स्वास्थ्यकर्मीहरुलाई आवश्यक उपकरणहरु पर्याप्त मात्रामा व्यवस्था गर्न आग्रह गर्दै कुनै समस्या परेमा आफुलाई जानकारी गराउन अनुरोध गर्नुभयो । कोभिड नियन्त्रणमा नेपाली काँग्रेस पर्वत र आफु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

उक्त स्वास्थ्य सामाग्री पर्वत घर भई काठमाण्डौमा रहनुभएका डा. केदार सुवेदी र लेखराम गौतमको पहलमा प्राप्त भएको काँग्रेस नेता जोशीले जानकारी दिनुभयो । नेता जोशीले यस अघि पनि प्रमुख जिल्ला अधिकारी मार्फत लाखौँको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि सवै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै यसको सवैभन्दा अचुक औषधी भौतीक दुरी कायम गर्नु, मास्क र स्यानिटाईजरको प्रयोग गर्नुनै उत्तम विकल्प भएको बताउनुभयो । नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका डाक्टरहरु, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।