पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरण गर्नका लागि पर्वत जिल्लाका सवै सरोकारवालाहरु एकजुट हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी बताउनुभएको छ ।
पर्वतमा सरुवा भएर आएपछि पहिलोपटक मंगलवार पत्रकार सम्मेलन गर्दै पर्वतमा कोभिड १९ को रोकथाम र व्यवस्थापनको अवस्थाका बारेमा जानकारी दिनुभएको हो । उहाँले अहिले जिल्लाभर १ हजार भन्दा बढि बेड क्षमता भएको क्वारेन्टाईन विस्तार भएको बताउनुभयो । भने सदरमुकाम कुश्माबजार, मोदी गाउँपालिकाको तिलाहार, पातीचौर कुश्मा नगरपालिकाको वडा नं. १० पिपलटारी लगायतमा पनि पुलिङ क्वारेन्टाईन विस्तार गरिएको बताउनुभयो ।
छिमेकी मुलुक भारतवाट झण्डै २ हजार १ सयको हाराहारीमा नागरिकहरु भित्रिन सक्ने आँकलनका साथ क्वारेन्टाईन र आइसोलेशनको क्षमता विस्तारमा लागिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । उहाँले भारत बाहेक तेस्रो मुलुकवाट पाँच हजार भन्दा बढि नागरिकहरु तत्काल भित्रिने आकलन गरिएको बताउनुभयो ।
प्रजिअ रेग्मीले विपत न्यूनिकरणका लागि प्रत्येक नागरिकहरु सचेत हुनुको विकल्प नरहेको बताउँदै भौतीक दुरी कायम गर्ने, मास्क र सेनीटाईजरको अनिवार्य प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्लामा ९ जना संक्रमित भेटिएको र अहिले उनिहरुको स्वास्थ्य अवस्थ सामान्य रहेको बताउँदै रेग्मीले रिपोर्ट आउन बाँकी १ सय ६७ वटामा पनि केहि संक्रमितको संख्या थप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारीमा लागेको बताउनुभयो ।
यसैबीच भर्खरै नबआगन्तुक प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले आफुहरु कोभिड १९ सँग जुद्दै अपराध अनुसन्धान र गैरकानूनी क्रियाकलापको रोकथाममा सक्रिय रहने बताउनुभयो । उहाँले जिल्लाका सवै सरोकारवाला पक्षसँग हातेमालो गरेर कोहिपनि दोषी नउम्कोस र निर्दोशले कारवाहि खेप्नु नपरोस भन्ने उद्धेश्यका साथ निष्पक्ष भएर काम गर्ने बताउनुभयो ।
उहाँले कोभिड १९ को व्यवस्थापनका लागि आफु र मातहतका सवै सुरक्षा निकायलाई सक्रिय रुपमा परिचालन गरिने बताउँदै नागरिकहरु आफै सचेत भएमा जटिल समस्याहरु नआउने पनि बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंज्ञ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायत अन्य पत्रकारहरुले विभिन्न जिज्ञासा तथा सुझावहरु दिएका थिए ।






