पर्वत/जलजला गाउँपालिका -४ थामाका १२ जनालाई वुधबार रिलिज विरूद्धको भ्याक्सिन दिइएको छ । गत बैशाख ५ गते कुकुरको टोकाइपछि जेठको ७ गते र ११ गते क्रमश दुइवटा गोरू मरेपछि स्थानीयहरू आतंकित हुँदै जलजला गाउँपालिकाको स्वास्थ्य शाखामा रेविज विरूद्धको भ्याक्सिन लगाइदिन माग गरे बमोजिम वुधबार सम्बधित स्थानमा पुगेर भ्याक्सिन लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजु बोहोराले जानकारी दिनुभयो ।
कुकुरको टोकाइबाट मरेको जनावरको सम्पर्कमा आएका ४४ जनाले भ्याक्सिनको माग गरेको भएपनि स्वास्थ्यकर्मीहरूको टोलीले घटनास्थलमा गरेको अनुसन्धानपछि १३ जनालाई मात्रै खोप लगाउनु पर्ने आवस्यकता देखिएको थियो । कुकुरको टोकाइबाट स्थानीय रामचन्द्र सापकोटाको गोरू जेठ ७ गते र प्रकाश जिसीको गोरू जेठ ११ गते मरेका थिए । तर सोही कुकुरले टोकेका स्थानीय रत्नबहादुर जिसीका बाख्रामा भने अहिलेसम्म कुनै लक्षण नदेखिएको संयोजक बोहोराले वताउनुभयो ।
वुधवार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले स्वास्थ्य प्राविधिक टोलीसहित थामा पुगेर स्थानीय सर्वसाधारणसँग रेबिज सम्बन्धी चेतनामूलक अन्तक्रिया गर्नुभएको छ । अध्यक्ष मल्लले रेविज रोग लागेका जनावरहरुसँग लसपस हुने व्यक्ति वा पेशाकर्मीहरुलाई रोग सर्ने सम्भवना हुने भन्दै रेविज रोगको सम्भावना भएका जनावरको सम्पर्कबाट टाढा रहन र त्यस्तो आशंका भए गाउँपालिकाको स्वास्थ्य शाखामा खबर गर्न स्थानीयबासीहरूलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा जिल्ला अस्पताल पर्वतका डाक्टर सुरज नेपाली र जिल्ला स्वास्थ्य कार्यालय पर्वतका सिनियर अहेब तेजप्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो ।







