पर्वत/जिल्लाको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गतेसम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको छ । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको हो । आयोजकले वुधवार कुश्मामा पत्रकार सम्मेलनमार्फत गौमहोत्सवको औचित्यवारे प्रष्ट पारेका थिए ।
गौमहोत्सवले जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षणसंगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि महत्वपूर्ण टेवा पुग्ने मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार, महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । गौमहोत्सवको तयारीबाट जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताउनुभयो ।
स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै गौशालामा हजार गाई बनाउने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिनुभयो । महासचिव आचार्यले महायज्ञ एवम् गौमहोत्सवबाट पाँचकरोड रकम संकलन गर्ने लक्ष्य राखिएको र उक्त रकमबाट पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने बताउनुभयो । महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्यसंगै पण्डित सुनर्शन बरालको कथा बाचन र प्रवचन रहनेछ । जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा रु ५ हजार ५ सय ५५ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने प्रस्ताब गरिएको छ भने महोत्सव अवधिभर १ हजार बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको आयोजक महासचिव आचार्यले दावी गर्नुभयो ।
यस विराट् ज्ञानमहायज्ञ एवम गौमहोत्सवले नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्राउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ । महायज्ञको व्यवस्थापनसंगै छिमेकी जिल्ला, स्थानीय तहहरु र देशव्यापी रुपमा प्रचारप्रसारलाई तिब्रता दिईएको समितिका बरिष्ठ उपाध्यक्ष डण्डपाणी रिजालले जानकारी दिनुभयो ।






