श्रम माफियाहरुको जीत ः गोकर्ण विष्टलाई गलहत्ती

पर्वत/प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। पछिल्लो एक सातायता हटाइने र ल्याइने मन्त्रीको लामो अड्कलबाजी पनि चल्यो। अनुमान र चर्चा अनुसार केही मन्त्री हटाइए र केही नयाँ ल्याइए। प्रधानमन्त्रीले केही समयअघि मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे। त्योभन्दा अघि सचिवालय समेतको संलग्नतामा मन्त्रीहरुको प्रगति सूची तयार पारे। कतिपयले उक्त सूचीलाई आलोचना पनि गरे। केहीले भने मन्त्रिपरिषद हेरफेरको एक मापदण्ड मानेका थिए।

तर, बुधबार मन्त्रिपरिषदका सदस्य हेरफेर हुँदा न प्रधानमन्त्री र उनको सचिवालयले बनाएको प्रगति सूची मानक बन्यो न त कुनै मापदण्ड बन्यो। धेरैको अनुमानभन्दा बाहिर केही मन्त्रीहरु जोगिए र केही यथावत रहे। जसलाई आम सर्वसाधरणले अस्वभाविक मानेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन्। भने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी वीना मगरको निरन्तरतामा प्रश्न गरेका छन्। केही सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको निरन्तरताको अर्थ खाजेका छन्।

लामो समयदेखि भ्रष्टाचार र लुटतन्त्रको अखडा बनेको वैदेशिक रोजगारीको क्षेत्रमा विष्टले धेरै सुधार गरेको र केही काम प्रक्रियामै रहेकाले उनलाई हटाउन नहुने जानकारहरू बताउँछन् । कतिपयले हटाउन लागिएको हो भने प्रधानमन्त्री ओलीको यस्तो निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा विरोध समेत गरेका छन् ।
मलेसिया सरकारसँग लिएको अडान, जापानमा नेपाली कामदार पठाउन गरिएको पहल, केही खाडी मुलुकसँग गरिएको फ्री भिसा र फ्री टिकट सम्झौता, वैदेशिक रोजगार विभागमा गरिएका सुधारका काम, म्यानपावर कम्पनीहरूलाई जबाफदेही बनाउन चालिएको कदम, आफ्नै प्रदेशबाट श्रम गर्न मिल्ने व्यवस्था, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा जस्ता कामले परिणाम देखाएका मन्त्री विष्ट यति बेला विभिन्न क्षेत्रका माफियाहरूका नजरमा गडेका छन् ।
मन्त्री विष्टलाई हटाउन नेपाली मात्र होइन मलेसियाकै कतिपय गिरोह महिनौँदेखि लागिपरेको चर्चा पहिले पनि चलेको थियो । उनलाई हटाउन र आफ्नो पुरानो साम्राज्य चलाउन वैदेशिक रोजगारमा संलग्न कतिपय व्यवसायी र वैदेशिक रोजगारीकै मेडिकल सञ्चालकहरू लागिपरेका थिए । मन्त्री विष्टकै कार्यकालमा वैदेशिक रोजगार विभागमा हुने भ्रष्टाचारमा पनि कमी आएको विभागकै एक कर्मचारीले बताए । उनका अनुसार पहिले दिनदिनै कर्मचारी र बिचौलिया रङ्गेहात पक्राउ परेका समाचार आउने गरेको र अहिले त्यस्ता घटना शून्यमा झरेका छन् ।