नेपाल पत्रकार महासंघ पर्वतले १४ औ स्थापना दिवस कार्यालय स्थापना गरेर मनायो

पर्वत/विगत चौध वर्ष अघि शाखा स्थापना भई भाडाको घरमा कार्यालय संचालन गर्दै आएको नेपाल पत्रकार महासंघ पर्वत शाखा सरकारी भवनमा स्थनान्तरण भएको छ ।
आफ्नै भवन नहुँदा भाडाको घरमा संचालन हुँदै आएको भवन सोमवारदेखि खाली रहेको सरकारी भवनमा स्थानन्तरण गरिएको हो । संघीयताको कायान्वयन सँगै खाली वनेको जिल्ला शिक्षा समन्वय ईकाईका बार्षिक परिक्षा समितिको कार्यालयमा पत्रकार महासंघको कार्यालय सारिएको महासंघका अध्यक्ष छविलाल तिवारीले जानकारी दिनुभयो ।
जिल्लाको अधिकार स्थानीय तहमा गएपछि खालीजस्तै बनेको उक्त भवन संघीय सांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल र जिल्ला शिक्षा समन्वय ईकाईका कार्यालय प्रमुख उद्धिमराज पौडेलको पहलमा पत्रकार महासंघलाई हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औँ स्थापना दिवसको अवसरमा नयाँ भवनवाट कार्यालय संचालन शुरु गरिएको हो । केक काटेर नयाँ भवनवाट कार्यालय संचालन गर्न शुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले संस्थालाई व्यवस्थित रुपले संचालन गर्नका लागि भौतिक पुर्वाधारको पनि उत्तिकै महत्व हुने भएकाले अब पत्रकार महासंघ पर्वत व्यवस्थित र प्रभावकारी रुपमा संचालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारी कर्मचारी र पत्रकारबीच प्रगाढ सम्वन्ध हुनुपर्नेमा जोड दिनुभयो । सुशासन, पारदर्शिता र भ्रष्टाचार न्यूनिकरणका लागि पत्रकार र सरकारी निकायवीच आवश्यक समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ पर्वत शाखाका संस्थापक अध्यक्ष भोलानाथ शर्माले आफुले लामो समयदेखि भवन निर्माणका लागि पहल गर्दै आएको बताउनुभयो । उहाँले उक्त सरकारी भवनलाई व्यवस्थित बनाउन र कार्यालय सजावटका लागि रु ५० हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख उद्धिमराज पौडेल, पत्रकार महासंघ पर्वत शाखाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व अध्यक्ष ओमप्रसाद घायल लगायतले बोल्नुभएको थियो ।
अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तव्य उपाध्यक्ष प्रनिश गिरी र संचालन सचिब गणेश गिरीले गर्नुभएको थियो ।