मौरीपालनबाट देउपुरका किसान टिकारामले कमाए वार्षिक ३५ लाख रुपैयाँ

पर्वत/मोदी –२ देउपुरका टिकाराम तिमिल्सीनाले मौरीपालनबाट वार्षिक ३५ लाख रुपैयाँ कमाउन थाल्नुभएको छ । तिमिल्सीनाले ७० वटा घारमा मौरीपालन गर्नुभएको छ । उहाँले मह, मौरीको चाका र घार बेचेर आम्दानी लिँदै आउनुभएको छ । २०५८ सालदेखि तिमिल्सीनाले मौरीापलन शुरु गर्नुभएको थियो । घरको वार्तली, आँगनको डिल, वारी र कान्लामा मौरीका घार राखेका उहाँ बिहान देखि साँझ सम्म मौरीको स्यहारमा व्यस्त हुनुहुन्छ । तिमिल्सिनाले वर्षमा ३०० घार माहुरी र ७ क्विण्टल मह बिक्रि गर्दै आएको सुनाउनुभयो । उहाँले तयारी मह प्रतिकिलो एक हजारमा विक्री गर्दै आउनुभएको छ ।

माहुरी सहितका घार प्रतिगोटा ९ हजारमा विक्री गर्दै आएका कृषक तिमिल्सीनाले जानकारी दिनुभयो । माहुरी फर्म हेर्न आउनेबाट एक हजारका दरले शुल्क समेत लिने गर्नुभएको छ । तिमिल्सिनाको माहुरी फर्म हेर्न मात्रै बिभिन्न व्यक्ति र समुह समेत गरि वर्षमा सय भन्दा बढी आउने गरेका छन् । उहाँ मौरी वाहेक सुन्तलाका पनि व्यवसायिक कृषक हुनुहुन्छ । मौरीको आहाराका लागि घर वरिपरि सुन्तलाका विरुवा लगाउनुभएको छ भने प्रस्ततै फुलका विरुवा पनि छन् । त्यसका अलवा नजिकैको सामूदायिक बनमा पनि मौरीलाई चरनको व्यवस्था छ ।

लघु उद्यम विकास कार्यक्रमले दिएको तालिम पछि उहाँले मौरीपालन शुरु गर्नुभएको हो । ६५ वर्षिय तिमिल्सीनाले मौरीबाटै प्रसस्त सम्पत्ती जोडिसक्नुभएको छ । उहाँको फर्ममा मौरी सहितका घार किन्नका लागि पर्वत, कास्की, स्याङजा, गुल्मीका मानिसहरु आउने गरेका छन् । उहाँले एपी सेरेना जातको माहुरी पालन गर्दै आउनुभएको छ । यो जात भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने तिमिल्सीनाले बताउनुभयो । मह वेच्न वजार जानुपर्दैन । घरमै मह खोज्दै ग्राहक आईपुग्छन् ।