३ महिनामा ३७ करोड राजस्व संकलन

पर्वत/चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय बागलुुङले व्यक्तिगत प्यान लिनेको संख्या बढेसँगै राजस्व पनि उल्लेख्य संकलन गरेको छ । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म रू.३७ करोड १० लाख ९ हजार राजस्व संकलन भएको छ । कार्यालयले तीन महिनामा रू.२१ करोड १० लाख ६६ हजार राजस्व संकलन गर्ने राखेको थियो । साउन एक गतेदेखि असोजसम्म ९ हजार ९०२ जनाले व्यक्तिगत स्थायी लेखा नम्वर लिएको कार्यालयका प्रमुुख कर अधिकृत हेमराज सुुवेदीले बताउनुभयो ।

कार्तिक महिनामा कार्यालयमा आयकर तर्फ २ हजार ५४३ जना, भ्याटमा ११३ र अन्तशुुल्कमा २८० दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि सरकारले स्थायी लेखा नम्बर अनिवार्य गरेपछि आन्तरिक राजस्व कार्यालयमा प्यान लिनेको भिड बढेको छ । कार्यालयको कार्यक्षेत्र बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला रहेका छन् । कार्यालयले कर शिक्षा तथा कर जागरण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । गतवर्ष देखि बागलुङमा कर कार्यालय सञ्चालन भएको हो । यसअघि पोखरा पुगेर कर लगायतका काम गर्नुपर्ने बाध्यता थियो ।