पर्वत/‘समुन्नत पर्वत’ निर्माणको. पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजले जलजला गाउँपालिकाका पहिरो पिडितका लागि निर्माण गरेको घर हस्तान्तरण गरेको छ । २०७५ साल साउन २ गते मुसलधारे बर्षापछि आएको बाढि र पहिरोको चपेटामा परेर घरबार बिहीन भएका जलजला गाउँपालिका–८ नाग्लीवाङ लस्ती र ७ धाईरिङका पहिरो पीडितका लागि निर्माण गरिएका ३ वटा घर आज हस्तान्तरण गरिएको हो ।
समाजले वडा न. ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो । समाजका अध्यक्ष पुरन गिरी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, समाजका संरक्षक सुभाष जोशीले घरको शिलालेख अनावरणका साथै प्रमाणपत्र र चावी प्रदान गरेर घर हस्तान्तरण गर्नुभएको थियो । उक्त घर १२ लाख लागतमा निर्माण गरि हस्तान्तरण गरिएको अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ ।
कार्यक्रममा बोल्द्रै अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले बिदेशमा रहेका नेपालीहरु स्वदेशमा परेका हरेक अप्ठ्यारो र समस्यामा संधै साथमा रहेको बताउनुभयो । बिदेशमा भएपनि आफुहरुको मन स्वदेशमै रहेको बताउँदै गिरीले पीडितलाई सानो भए पनि दशैँमा घर उपहार दिन सकिएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले पीडित परिवारलाई घर बनाउन सहयोग गर्ने अन्तराष्ट्रिय पर्वत समाजप्रति आभार व्यक्त गर्नुभयो । उहाँले पीडित परिवारको बसोबास व्यवस्थापन गर्न र आगामी दिनमा क्षती नहोस भनेर बस्ती संरक्षणका लागि संघ र प्रदेश सरकार संग सहयोग माग गरेको बताउनुभयो । पीडित परिवारलाई राहात दिने कुरामा गाउँपालिकाले कुनै कसुर बाँकि नराखेको अध्यक्ष मल्लले बताउनुभयो ।
कार्यक्रममा जलाजला गाउँपालिकाका उपाध्याक्ष सिमा गर्वुजा,अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक सुभाष जोशी, अन्तराष्ट्रिय पर्वत समाजका उपाध्याक्ष एवम् पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, समाजका उपाध्याक्ष परशुराम पौडेल, जलजला गाउँपालिका–७ धाईरिङका वडा अध्यक्ष टुंकनाथ शर्मा, नेपाली काँग्रेस जलजला गाउँपालिकाका सभापति चन्द्रवहादुर जिसी, साविक नाग्लीवाङ गाविसका पूर्व उपाध्याक्ष हरेमवहादुर खत्री, अन्तराष्ट्रिय पर्वत समाजका सचिव मणि भुर्तेल, सहकोषाध्याक्ष विनोद पुरी, पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोका, पर्वत समाज यूएईका अध्यक्ष सरोज जिसी, पर्वत समाज बराईनका अध्यक्ष राम शर्मा, पर्वत समाज कतारका महासचिव शेषराज तिमिल्सीना, पर्वत समाज बेील्जयमका सल्लाहकार भीम जोशी लगायतले मन्तव्य राख्नुभएको थियो ।
जलजला गाउँपालिका अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भिष्म मल्ल र कार्यक्रमको संचालन जलजला गाउँपालिका–८ नाग्लिवाङका वडाअध्यक्ष हरिविकास जिसीले गर्नुभएको थियो ।






