संविधान दिवसकै दिन संविधान कार्यान्वयनका प्रति वक्ताहरुको आशंका

पर्वत/संविधान दिवस २०७६ ले सत्तापक्ष र प्रतिपक्षलाई एउटै मञ्चमा जोडेपनि संविधानको कार्यान्वयनमा भने धेरै वक्ताहरुले आशंका व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा जिल्ला मूल समारोह समितिले आयोजना गरेको प्रवचन कार्यक्रममा वोल्ने वक्ताहरुले संविधानको कार्यान्वयनमा आशंका गरेका हुन् ।

मुल समारोहलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले अब नेपाली जनता निरास भएर बस्नुपर्ने दिन गएको बताउनुभयो । उहाँले सरकारले चौतर्फी रुपमा मुलुकको समृद्धिका कामहरु गरेको भन्दै नेपाली नागहिरुलाई अब उत्साह र उमंगका साथ बस्न आग्रह गर्नुभयो । सांसद गिरीले वर्तमान सरकार संविधान कार्यान्वयनकै दिशामा अघि बढेको बताउँदै संविधान कार्यान्वयन गर्दै देशलाई समाजबाद तर्फ लैजाने कार्यमा लागेको बताउनुभयो । गिरीले वर्तमान सरकारले दोहोरो अंकको आर्थिक बृद्धि कायम गर्ने गरी लागि परेको दाबी गर्नुभयो । शसस्त्र युद्ध गर्दै देश टुक्राउने एजेण्डा लिएर बसेका विद्रोही शक्तिलाई समेत राजनितिको मुल प्रवाहमा लैजाने गरी सरकारले गरेको उहाँले बताउनुभयो ।‘पाइपबाट तेल ल्याउने, उत्तरका नाकाहरु खुलाउने र आर्थिक बृद्धिदर उच्च राख्ने कार्य सरकारका के कमजोर पक्ष हुन ।’ सांसद गिरीले थप्नुभभयो–‘सरकार गठनको पहिलो बर्ष कानून निर्माण भए, दोस्रो बर्ष देखि विकास योजनाको कामले रप्तार लिन्छ ।’ उहाँले सरकार कुनै पनि मूल्यांकनमा कमजोर नरहेको भन्दै देश परिर्वतन र विकास यहि सरकारले गर्ने ठोकुवा गर्नुभयो । संविधान नमान्ने शक्तिहरुलाई समेत संविधान मान्न बाध्य पारी सरकारले राजनीतिको मूल धारमा ति शक्तिहरुलाई ल्याएको उहाँको भनाई छ ।

कार्यक्रममा संविधान सभाका सदस्य तथा काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले निर्वाचनपूर्व जनतालाई धेरै ठूला सपनाहरु देखाएर चुनाव जितेपनि नागरिक अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको वताउनु भयो । काँग्रेस नेता जोशीले वर्तमान सरकारले प्रतिपक्षी दललाई निषेध गर्नेदेखि मिडिया,मानवअधिकारवादी, नेपाली सेना, राष्ट्रसेवक कर्मचारी सबैलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको उल्लेख गर्दै प्रतिपक्षी दललाई निषेध गर्ने र अरू संवैधानिक निकायलाई कव्जा गर्न खोज्नु अधिनायकवादी शासनको शुरूवात भएको दाबी गर्नुभयो । संविधान सभाका सदस्य समेत रहेका जोशीले आफू र आफ्नो पार्टी नेपाली काँग्रेसका तर्फबाट वर्तमान सरकारलाई कुनै खतरा नरहेको दाबी गर्दै तिहाईको सरकार असफल भए आफ्नै अहंकार र दम्भका कारण असफल हुने ठोकुवा गर्नुभयो । उहाँले यो सरकारले संविधान र कानुनको परिधिमा रहेर काम गरेमा कसैसँग डराउन नपर्ने भन्दै जनअपेक्षा अनुसार काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमु्ख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जिल्ला न्यायधिश सूर्यबहादुर थापा, नेकपा नेता भक्त कुँवर, कांग्रेस पार्टी सभापति खिमप्रसाद भुषाल, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी र उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा अधिबक्ता भोलानाथ शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सञ्चालन सहयाक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले गर्नुभएको थियो ।
यस अघि जिल्ला प्रशासनबाट शुरु भएको प्रभात फेरी पर्वत सदरमुकाम कुश्मा बजारका विभिन्न चोक हुँदै मुल समारोहमा परिणत भएको थियो । उक्त अवसरमा सांसद गिरीले जिल्ला प्रशासन कार्यालयको झण्डोत्तलन गरेका थिए ।