पर्वत/स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस पर्वतले एक कार्यक्रमको आयोजना गरि स्वर्गिय गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका कमाण्डर समेत रहेका कोइरालाले अवलम्बन गरेको बाटोमा काँग्रेस अविचलित भएर हिँड्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका पूर्व सभापति तथा प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका काँग्रेसका अविस्मरणीय भएको उल्लेख गर्दै उहाँको त्याग, निष्ठा र बलिदानलाई नेपाली काँग्रेसले सँधै उच्च सम्मान गर्ने वताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले कोइराला निर्भिक र निडर नेता भएको स्मरण गर्दै देशलाई आजपनि कोइरालाजस्तै साहसी नेताको आवस्यकता रहेको वताउनु् भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नेपाली काँग्रेसका नेताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान निकै गौरवपूर्ण रहेको भएपनि अहिले काँग्रेस–काँग्रेसवीचको वेमेल र गुटबन्दीले पार्टी निकै कमजोर अवस्थामा पुगेको वताउँदै यो अवस्थामा काँग्रेसलाई जोडेर एकढिक्का बनाउनुपर्ने आजको आवस्यकता भएको धारणा राख्नुभएको थियो ।
पार्टी उपसभापति दुर्गाबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता लोकनाथ आचार्य, जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्वुजा पुन, जिल्ला कार्य समितिका सदस्यहरु कुलप्रसाद उपाध्याय र सरस्वती शर्मा जिज्ञाशु लगायतले बोल्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र कार्यक्रमको संचालन जिल्ला सदस्य डा. चूडामणि शर्माले गर्नुभएको थियो । कोइरालाको निधन २०६६ साल चैत्र ७ गते भएको थियो । २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहेका कोइराला बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि चारपटक नेपालको प्रधानमन्त्री बनेका थिए ।






