काँग्रेस सभापति शेरबहादुर देउवाको तीनदिने धौलागिरी यात्रा ः यस्तो छ कार्यक्रम तालिका

31

फागुन, २३– पर्वत/ नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन तीनदिने धौलागिरी भ्रमणमा आउनुहुनेभएको छ । गत निर्वाचनमा धौलागिरीबाट काङ्ग्रेसलाई नराम्रो धक्का लागेपछि सभापति देउवाले पार्टी संगठनका विभिन्न कार्यक्रमहरु लिएर धौलागिरी आउन लागेको केन्द्रीय कार्यालयले जानाकारी दिएको छ । पार्टी सभापति देउवा कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन फागुन २४ गते पोखरा प्रस्थान गर्नुहुने पार्टी कार्यालयले जनाएको छ । उहाँ फागुन २५ गते बिहान पोखराबाट हेलिकप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान गरी त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ काङ्ग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटनसभालाई सम्बोधन गर्नुहुनेछ ।

सभापति देउवा फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक आउने र त्यहाँ नेपाली काँङ्ग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास तथा जनसभालाई सम्बोधन गर्नुहुने वताइएको छ । सोही दिन उहाँ बाग्लुङबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सभापति देउवा फागुन २७ गते बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा आउने र नेपाली काङ्ग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले जानाकारी दिनुभएको छ । सभापतिसँगै बरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मासहितका केन्द्रीय नेताहरु जिल्ला भ्रमणमा आउने वताइए पनि बरिष्ठ नेता पौडेल भने कार्यक्रममा उपस्थित हुने टुङ्गो नभएको बुझिएको छ ।