कालो बजारी र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न कुश्मामा बजार अनुगमन

पर्वत/नेपालीहरुका प्रमुख चाडपर्व बडादसैँ, तिहार तथा छठ नजिकिएसँगै पर्वतमा बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न कुश्मामा बजार अनुगमनलाई तिब्रता दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वत र एकीकृत सेवा कार्यालय पर्वतको संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थानका होटेल तथा किराना पसलमा अनुगमन गरी रु. २० हजार ५ सय ५० बराबरका म्याद गुर्जेका र अखाद्य बस्तुलाई नष्ट समेत गरिएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तुको उपलब्धता र व्यवसायमा स्वच्छता कायम गर्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको कार्यालयले जनाइएको छ ।

अनुगमनको क्रममा होटल, रेस्टुरेन्ट, किराना पसल, मिठाई पसल संचालहकरुले पालना गर्नु पर्ने नियम उल्लेख गरिएको सचेतना समाग्री समेत वितरण गरिएको थियो ।सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, होटल तथा खाद्य व्यवसायको सरसफाइ, खाद्यवस्तुमा अखाद्य रङको प्रयोग, व्यवसाय दर्ता तथा नवीकरण र म्याद गुज्रिएका सामग्रीको बिक्रीवितरण अवस्थालाई प्राथमिकतामा राखिएको छ ।

एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलले बजारका होटल, खाद्यान्न तथा किराना पसललगायत विभिन्न व्यवसायमा अनुगमन गरिएको बताए । अनुगमनका क्रममा होटल तथा मिठाई पसलमा सरसफाइको कमी रहेको, खाद्यवस्तुमा अखाद्य रङ प्रयोग गरिएको तथा चाउमिन र मम उत्पादन गर्ने उद्योगले आवश्यक लेबलिङ र प्याकेजिङ नगरी सामग्री बिक्रीका लागि राखेको भेटिभएको थियो।अनुगमन टोलीले केही होटलबाट अखाद्य रङका बट्टा नियन्त्रणमा लिई नष्ट गरेको छ। त्यस्तै, आवश्यक लेबलिङ तथा प्याकेजिङ नगरी बिक्रीका लागि राखिएका चाउमिन र मम तथा उपभोग्य मिति समाप्त भएका सामग्रीसमेत बरामद गरी नष्ट गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

जिल्ला बजार अनुगमन समितिले निर्धारण गरेको वार्षिक कार्यतालिकाअनुसार नियमित अनुगमनलाई निरन्तरता दिइने छ। गुणस्तर सुधार तथा नापतौल कार्यालय पोखराका प्राविधिकसमेत सहभागी अनुगमन टोलीले व्यवसायीलाई आवश्यक सुझाव तथा निर्देशन दिएको छ । सुधार गर्न दिइएको निर्देशन पालना नगरेको पाइएमा उपभोक्ता संरक्षणसम्बन्धी कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

चाडपर्वको अवधिभर बजार अनुगमनलाई निरन्तरता दिइने र त्यसपछि पनि आवश्यकताअनुसार अनुगमन गरिने छ। उपभोक्तालाई सचेत रहन आग्रह गर्दै सामान खरिद गर्दा मूल्य, गुणस्तर, उत्पादन तथा उपभोग्य मिति र प्याकेजिङमा उल्लेखित विवरण जाँच गर्न आग्रह गरिएको छ ।बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्न, उपभोक्तालाई ठगीबाट जोगाउन र सुरक्षित खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्न सरकारी निकाय, व्यवसायी तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।