पर्वतमा विनाशक बाढी पछि आएको सुख्खा पहिरोले जनजीवन प्रभावित

पर्वत/कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्‍याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुख्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। प्राकृतिक विपत्तिको दोहोरो मारमा परेका स्थानीयको जनजीवन अहिले अस्तव्यस्त बनेको छ।

असोज १० गते राति कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार फर्सेमा मात्रै ८७ घर पूर्ण रूपमा र ३० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार फर्से क्षेत्रमा मात्रै करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि पर्वतका सङ्घीय सांसद सागर भुसालले प्रभावित परिवारको तत्कालीन तथा दीर्घकालीन आवास व्यवस्थापनमा चासो दिनुभएको छ। उहाँले अहिले प्रभावित परिवारलाई सुरक्षित स्थानमा अस्थायी रूपमा राख्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था गर्ने विषयमा स्थानीय तह र सरकारसँग छलफल गरी अघि बढ्ने बताउनुभएको छ।

जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिबिकास जिसीका अनुसार बाढीपीडितलाई अहिले टेन्टमा राखिएको छ। यसअघि आफन्तका घरमा खानाको व्यवस्था हुँदै आए पनि अब प्रभावित परिवारका लागि सामूहिक मेस सञ्चालन गरी भोजनको व्यवस्था गरिने भएको छ। विस्थापित परिवारमा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेकाले उनीहरूको दैनिक जीवन सहज बनाउन थप सहयोग आवश्यक देखिएको छ।बाढीले सडक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। पर्वतलाई बागलुङ हुँदै म्याग्दी र मुस्ताङलगायतका जिल्लासँग जोड्ने मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन्। मालढुङ्गाको पुलसमेत भत्किएपछि यातायात सम्पर्क प्रभावित भएको छ। ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा आवतजावत कठिन बनेको छ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीका अनुसार सडक तत्काल सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ। बाढीबाट क्षतिग्रस्त पुल निर्माणका लागि आवश्यक एक्जाभेटर तथा अन्य सामग्री प्रभावित स्थानसम्म पुर्‍याउनसमेत कठिनाइ भइरहेको उहाँले बताउनुभयो। दुवैतर्फ सडक अवरुद्ध भएकाले तारजालीलगायत निर्माण सामग्री लैजान समस्या भएको उहाँको भनाइ छ।बाढीको घाउ सुक्न नपाउँदै सुख्खा पहिरोबाढीको पीडाबाट प्रभावित परिवार सुरक्षित स्थानको खोजीमा रहेका बेला जलजला गाउँपालिका–७ लामाबगरमा आज बिहान सुख्खा पहिरो खसेपछि अर्को विपत्ति थपिएको छ।बिहान करिब ५ः३० बजे ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय आत्माराम आचार्यको घर पूर्ण रूपमा पुरिएको छ। पहिरोमा परी घरभित्र रहेका करिब ६५ वर्षीय आचार्य घाइते हुनुभएको छ।

प्रहरी चौकी मिलनचोक र वारीबेनीबाट खटिएको प्रहरी टोलीले आचार्यलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाएको छ। उहाँको टाउको तथा दाहिने आँखामाथि चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घरमा रहेका अन्य तीन महिला भने सकुशल रहेका छन्।पहिरोले आचार्यको घरनजिकै रहेको गोठसमेत पुरेको छ। गोठमा रहेका दुई भैँसी र दुई पाडो पुरिएका छन्। स्थानीय मञ्जुला आचार्यका दुईवटा कच्ची घरसमेत पहिरोमा पुरिएका छन्।

थप उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ।कालीगण्डकीको बाढीले बस्ती डुबाउनुका साथै सडक र पुलमा क्षति पुर्‍याएको अवस्थामा त्यसको पीडा कम हुन नपाउँदै सुख्खा पहिरोले घर पुरेको छ, पशुचौपाया गुमेका छन् र परिवार विस्थापित भएका छन्। पछिल्ला घटनाले पर्वतमा प्राकृतिक विपत्तिको जोखिम नदी किनारमा मात्र नभई पहाडी बस्ती र सडक सञ्जालसम्म फैलिएको देखाएको छ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण जमिन कमजोर बनेपछि पहिरो खसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास, खाद्यान्न र उपचारको व्यवस्था गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।यसैबीच, पर्वतको सेतीबेणी क्षेत्रका स्थानीयले भने बाढीबाट ठूलो क्षति भए पनि अझैसम्म कुनै पनि निकायबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन्।