काँग्रेसको १५औं महाधिवेशन : पर्वतका दुई पालिकामा निर्वाचन पाँचमा सर्वसम्मत

पर्वत /नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पालिका अधिवेशन पर्वतमा पनि सम्पन्न भएको छ।सात वटा स्थानीय तहहरू रहेको पर्वतमा कुनैमा सर्वसम्मत रूपमा त कुनैमा निर्वाचन प्रक्रियामार्फत पालिका सभापतिको टुङ्गो लागेको हो। सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकामा निर्वाचनमार्फत पदाधिकारीको टुङ्गो लागेको छ। सभापति सहित अन्य पदहरूमा पनि आवश्यक भन्दा बढी सङ्ख्यामा मनोनयन दर्ता भएपछि बिहीबार निर्वाचन गरेर कार्यसमिति चयन भएको हो।

नगरपालिकाका १४ वटा वडाका ४४३ जना क्षेत्रीय प्रतिनिधिहरूमध्ये ४३० जनाले गरेको मतदानबाट कार्यसमिति निर्माण भएको हो।  सभापतिमा सुरेन्द्र के.सी, दामोदर पौडेल (दीपक) र कुलराज पोखरेलबिच भएको प्रतिस्पर्धामा सुरेन्द्र विजयी बने। उनले निकटतम प्रतिद्वन्द्वी दीपकलाई ३१ मतान्तरले पछाडि पारे। के.सी.को पक्षमा २२५ मत आउँदा दीपकले १९४ मत पाए । अर्का प्रतिस्पर्धी पोखरेलले ८ मत प्राप्त गरे।सचिवमा २७४ मतसहित गोविन्द रेग्मी विजयी बनेका छन्। उनका प्रतिस्पर्धी वसन्त बास्तोलाले १३१ मत प्राप्त गरे । सहसचिवमा सरिता रेग्मीले कृष्णप्रसाद शर्मालाई २९ मतान्तरले पराजित गरिन्। रेग्मीले २१८ मत पाउँदा शर्माले १८९ मत पाएका छन्। दलित सदस्यमा अर्जुन परियारले २७७ मत पाउँदा उनका प्रतिस्पर्धी भीम सुनारले १२१ मत पाएका छन्। उपसभापतिमा लोकनाथ अधिकारी र पूजा कार्की शर्मा सर्वसम्मत भएका छन्।

यस्तै, आकाङ्क्षीहरू धेरै जना भएपछि फलेवास नगरपालिकाको नयाँ कार्यसमिति पनि निर्वाचनबाट नै टुङ्गो लागेको छ । बिहीबार नै भएको निर्वाचनका लागि ३४४ जना प्रतिनिधिहरूमध्ये ३२६ जनाले मतदान गरे। सभापतिका लागि ओम गौडेल, तोरण शर्मा, धनबहादुर थापा र रघुनाथ गौडेल प्रतिस्पर्धामा रहेकोमा गौडेल निकटतम प्रतिद्वन्द्वी शर्मालाई १४ मतले पछि पार्दै विजयी बने। गौडेलले १३५ पाउँदा शर्माले १२१, थापाले ३० र गौडेलले ११ मत प्राप्त गरे।उपसभापतिमा गणेश तिवारीले भूपेन्द्र पोख्रेललाई ९३ मतको अन्तरले पछि पारे। तिवारीले १८८ मत पाउँदा पोख्रेलले ९५ मत पाएका छन् । महिला उपसभापतिमा सरिताकुमारी शर्मा निर्विरोध भएकी छिन्। यस्तै सचिवमा सरिता कुमारी शर्मा, सहसचिवमा तीर्थ कुँवर तथा सदस्यहरूमा रेखा रिजाल पौडेल, वसन्त प्रसाद रिजाल, सन्दीप पौडेल, माया नेपाली र पार्वती परियार चयन भएका छन्।

जलजला गाउँपालिकामा भने सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्यहरूको टुङ्गो लागेको छ। हरि विकास जि.सी.को सभापतित्वमा रहेको गाउँपालिका समितिको उपसभापतिमा थलराम पौडेल र ज्योति मल्ल, सचिवमा सुदीप पौडेल, कोषाध्यक्ष इन्द्र प्रसाद आचार्य, सहसचिवमा निरबहादुर थापा मगर चयन भएका छन्। यस्तै सदस्यहरूमा आरती सुनार, गणेश रेग्मी, कमला नेपाली, विनय आचार्य र भगवान् जि.सी सर्वसम्मत भएका छन्।  यस्तै, मोदी गाउँपालिकामा सर्वसम्मत रूपमा सम्पन्न भएको अधिवेशनबाट दिपेन्द्रजंग लामिछाने सभापति बनेका छन्।  उपसभापतिमा कुलबहादुर बरुवाल र रेनु क्षेत्री, सचिवमा सुवास जि.सी, सहसचिवमा पशुपति बि.क. चयन हुँदा सदस्यहरूमा जितेन्द्र लामिछाने, विनोद क्षेत्री, रिमा कुमारी शर्मा, बुद्धिबहादुर बि.क. र भीमादेवी सुनार सर्वसम्मत भएका छन्।

बिहादी गाउँपालिकामा विजय कुमार क्षेत्रीको सभापतित्वमा नयाँ कार्यसमिति निर्माण भएको छ। जसको उपसभापतिमा विष्णु कुमारी क्षेत्री खड्का र गोकुल प्रसाद भुसाल, सचिवमा मोती कुँवर, सहसचिव शरद बहादुर थापा, चयन भएका छन्। कोषाध्यक्षमा भने पछि मनोनीत गरिने सचिव कुँवरले बताए। सदस्यमा कमल नेपाली, शुसन गिरी, सपना थापा, वसन्त पराजुली, लोक बहादुर क्षेत्री र जुना दर्जी सर्वसम्मत भएका छन्।

उता पैयुँ गाउँपालिकामा सर्वसम्मत रूपमा नै एकनारायण न्यौपानेको सभापतित्वमा कार्यसमिति निर्माण भएको छ। जसको उपसभापतिमा चोकप्रसाद अधिकारी र साबित्रा देवी तथा, सचिवमा विमल गौतम र सहसचिवमा कमल पौडेल, कोषाध्यक्षमा तिलकप्रसाद श्रेष्ठ चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा देवी प्रसाद काफ्ले, पूर्णिमा नेपाली, चौकबहादुर राना, तिलक प्रसाद श्रेष्ठ, खेमकुमारी भुसाल, निमकला न्यौपाने, बिन्दु काफ्ले कँडेल, मीनप्रसाद भुसाल, वेग बहादुर क्षेत्री, हिमलाल पङ्गेनी, सोनीज शाही मल्ल, तुलसी शर्मा गौतम, जायस्वर कुँवर, सुप्रिया गुरुङ र भगवती भुर्तेल रहेका छन्।

महाशिला गाउँपालिकामा पनि द्रोणराज पौडेलको सभापतित्वमा सर्वसम्मत रूपमा कार्यसमिति निर्माण भएको छ। जसको उपसभापतिमा नुन प्रसाद गुरुङ र सुशीला नेपाली, सचिवमा गोकुल अधिकारी, सहसचिवमा सन्तोष भुसाल तथा सदस्यहरूमा धनबहादुर सुनार, जितबहादुर हमाल, चन्द्र नेपाली, सङ्गीता बि.क. र रमेशबहादुर थापा निर्विरोध भएका छन्।