एउटै ठेकेदारबाट बागलुङका तीन नगरपालिकाका प्रशासनिक एवं अस्पताल भवन अलपत्र

पर्वत /स्थानीय सरकार बनेको ११ वर्ष बितिसक्दा पनि यहाँका दुई नगरपालिकाका भवन अलपत्र छन् । भवन अभावमा भाडाको घरमा बसेका नगरपालिकाले बर्सेनि लाखौं भुक्तानी गर्न बाध्य छन् । आफ्नै प्रशासनिक भवन बन्ला र बसौंला भनेर कुरेका नगर प्रमुखसहितका जनप्रतिनिधिहरू अहिले पनि अन्योलमा छन् । आफ्नै भवनमा बस्ने उनीहरूको सपना पूरा नहुने भएको छ ।

गलकोट नगरपालिका र जैमिनी नगरपालिकाका ती भवन अलपत्र छन् भने बागलुङ नगरपालिकाले कृषिको भवनमा आश्रय लिइरहेको छ । दुई कार्यकाल सम्हालेका गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको दोस्रो कार्यकालको समय सकिन ६ महिना मात्रै बाँकी हुँदा प्रशासकीय भवन बनाउन नसकेर चिन्तित छन् । जग्गाको व्यवस्थापनमा पहिलो ५ वर्ष खर्चेका उनले दोस्रो ५ वर्षमा भवनको ५० प्रतिशत प्रगतिसमेत गर्न नसकेका हुन् । त्यसो त यो भवन उनले बनाउने होइन । ठेकेदार कम्पनीले ढिलासुस्ती गरिदिँदा उनको दोस्रो कार्यकालमा पनि आफ्नै भवनमा बस्ने सपना पूरा नहुने भएको हो ।

२०७२ सालमा नगरपालिका घोषणा भएदेखि नै गलकोट नगरपालिका भाडाको घरमा बस्दै आएको छ । अहिले पनि नगरपालिकाले मासिक डेढ लाखभन्दा बढी भाडा तिर्नुपर्छ । अझै कतिन्जेल भाडाको घरमा बस्नुपर्ने हो, त्यो नगर प्रमुखलाई समेत यकिन छैन । ‘आफ्नै भवनमा बस्ने चाहना र नगरको गौरवका रूपमा भवन उद्घाटन गराउने सपना पनि छ,’ उनले भने, ‘ठेकेदार कम्पनीको लापरबाही अगाडि जनप्रतिनिधिको केही नलाग्ने रहेछ ।’ शुक्रबार पनि नगर कार्यपालिकाको बैठकको एजेन्डा भवनकै विषयमा थियो । रफिना जुगल संयुक्त निर्माण कम्पनीले ५ वर्षमा ५० प्रतिशत मात्रै प्रगति गरेको भवनको म्याद तीन महिना थपेको छ ।

ठेकेदार कम्पनीका प्रमुख अर्जुन श्रेष्ठ नै म्याद थप्नका लागि गलकोट आइपुगेका थिए । उनले ६ महिनाको समय माग गरेकामा कार्यपालिकाले ३ महिनाका लागि म्याद थप गरेको छ । पुस मसान्तसम्ममा तोकेको काम पूरा भएमा मात्र बाँकी म्याद थप्ने गरी कार्यपालिकाको बैठक सकिएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । ठेकेदार कम्पनीले २०७९ मंसिरमा २०८१ को मंसिर समान्तसम्ममा काम सक्ने गरी ठेक्का लिएको थियो । १२ करोड ४१ लाख ५५ हजार रुपैयाँको लागतमा ५ तले भवन बनाउनुपर्ने सम्झौता अनुसार अहिलेसम्म ठेकेदारले पाँचौं तलाको ढलानसमेत सकेका छैनन् । म्याद थपका लागि आएका श्रेष्ठले तीन महिनाभित्र ढलान र भित्री प्लास्टर सक्ने र वैशाख मसान्तसम्ममा बाहिरी काम सक्ने योजना सुनाए । तर नगरपालिका विश्वस्त नभएपछि तीन महिनाका लागि मात्र म्याद थपेको छ ।

श्रेष्ठले आर्थिक समस्या, मजदुर पाउन गाह्रो जस्ता कारण देखाएर काममा ढिला भएको प्रतिक्रिया दिए । ‘मेरो गल्ती त ७५ प्रतिशत छ, तर केही भुक्तानी नपाएर पनि काम अगाडि बढाउन सकिएन,’ श्रेष्ठले भने, ‘अब ऋण खोजेर भए पनि काम सक्ने प्रयास गर्छु ।’ उनले नुवाकोट र रसुवाबाट आउने केही मजदुर बाढीपहिरोले समस्यामा परेको दाबी पनि गरे । नगरपालिकाले ७ रोपनी जमिन व्यवस्थापन गरेर ठेक्का लगाएको थियो । ठेकेदारले सामग्रीको मूल्य बढेका कारण समायोजनको पनि माग गरेका छन् । नगरपालिकाको भवन चरौंदी फाँटमा निर्माणाधिन छ । नगरपालिकाका इन्जिनियर पवन ओलीले ५० प्रतिशत भौतिक प्रगति भएकामा केही रकम भुक्तानी बाँकी रहेको बताए ।

ठेकेदारले काम थालेको खण्डमा बाँकी रकम भुक्तानी गरेर काम अगाडि बढाउन पहल गर्नेसमेत उनले सुनाए । उता यिनै ठेकेदारले जैमिनी नगरपालिकाको प्रशासकीय भवन पनि अलपत्र छोडेका छन् । गलकोटको भन्दा एक वर्ष पहिला ठेक्का लिएर पनि जैमिनीको भवन पटक–पटक म्याद थप्दै अलपत्र पारिएको हो । ठेकेदार श्रेष्ठले जैमिनीको भवन भने आगामी पुस मसान्तभित्रै सकेर हस्तान्तरण गर्ने दाबी गरे । तर नगरपालिका भने उनको कुरामा अझै विश्वस्त बनेको छैन ।

अलपत्र पारिएको बागलुङ नगर अस्पतालको प्रशासनिक भवन । तस्बिरहरू : प्रकाश बराल८ करोड १७ लाख ६५ हजार रुपैयाँमा एउटै ठेकेदार कम्पनीबाट यो भवन ठेक्का लिइएको हो । जैमिनी अहिले वर्षमा २० लाख खर्चेर भाडाको घरमा बस्दै आएको छ । २०७८ फागुन २० गते नगरका पूर्वप्रमुख इन्द्रराज पौडेलले भवन शिलान्यास गरेका थिए । आगामी कात्तिक मसान्तसम्मको अन्तिम म्यादमा पनि उनले काम पूरा गरेका छैनन् ।‘धेरै काम सकेको छु, अब भित्री भागमा टायल बिच्छ्याउने र बाहिरी भागमा प्लास्टर मात्रै बाँकी छ,’ श्रेष्ठले भने, ‘भुक्तानी धेरै पाउन बाँकी छ, पाएँ भने मजदुरलाई दिन पनि पुग्थ्यो ।’ नगर प्रमुख नरबहादुर पुनले भवन अलपत्र पारेकाले ठेकेदारबाट आजित भएको बताए । ‘काम गरेको पैसासमेत नलगेर भागेकाले गत असार मसान्तमा नगरको वित्तीय प्रगतिमा असर परेको समेत पुनले बताए । ठेकेदारले यहाँको झण्डै साढे २ करोड भुक्तानीसमेत लैजान बाँकी छ । समयमा बिल पेस नगरेकाले भुक्तानी रोकिएको नगर उपप्रमुख हरिहर शर्माले बताए ।

उनै ठेकेदारले बागलुङ नगर अस्पतालको भवन पनि अलपत्र पारेका छन् । २०७८ साल असारमा सम्झौता गरेर २०८० को असार २० गते सम्पन्न गर्ने लक्ष्य राखिएको यो अस्पताल भवन पनि अलपत्र छ । २०७६ मा निर्णय भइ प्रक्रिया थाल्दा ठेक्का लाग्दैमा २०७८ लागेको थियो । बागलुङ नगरपालिकाको पैयुँपाटामा निर्माणाधिन भवनका लागि ठेकेदारले पटक–पटक म्याद थपेर पनि काम नगरेपछि भवन अलपत्र परेको बागलुङ–१३ वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । अहिलेसम्म अस्पतालको ५५ प्रतिशत मात्रै काम सकिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले बताए । ‘हामीले पटक–पटक ताकेता गरियो, ठेकेदार पक्ष आएर कामै गर्दैनन्,’ घर्तीले भने, ‘आएर काम गरेझै भएपछि फेरि फर्कन्छन् ।’ दुई वर्षअघि नै ५० प्रतिशत सकिएको काम २४ महिना बित्दा ५ प्रतिशत मात्रै थप प्रगति देखिएको उनले बताए ।

बागलुङ नगरपालिकाले १२ करोड ८७ लाखमा २०७८ असारमा यो भवनको ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले अहिलेसम्म ४ करोड ५३ लाख भुक्तानी लगेको लेखा अधिकृत प्रेमप्रसाद शर्माले बताए । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार यो १५ शय्याको अस्पताल हो । यो अस्पताल भवन निर्माण सम्पन्न भएमा एक जना एमजीडीपी डाक्टर, ३ जना मेडिकल अफिसर, ४ स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्टसहित ३० जना स्वास्थ्यकर्मी पठाएर यो क्षेत्रको सेवामा खटाइने नगर प्रमुख वसन्तकुमार श्रेष्ठको दाबी छ ।

काम सकेमा भुक्तानीमा समस्या नपर्ने पनि उनले बताए । पाँच वर्षदेखि काम अलपत्र छाडेको अवस्थामा अहिले बजेट अभावले काम रोकियो भन्नु तर्कसंगत नभएको उनको भनाइ छ । भवन अलपत्र परेपछि तत्कालीन पैयुँपाटा स्वास्थ्य चौकीमा नगर अस्पतालको बोर्ड राखेर काम गरिएको छ । भवन अभाव, उपकरण लगायत राख्न नमिल्ने कारणले दरबन्दी दिन नसकिएको, सेवा सोचेझै प्रभावकारी नभएको र सेवाग्राहीलाई जवाफ दिन नसकेको नगर प्रमुख श्रेष्ठले बताए ।