पर्वत /प्रदेश अस्पताल पर्वतमा लामो समयदेखि एम्बुलेन्स नहुँदा अस्पताल प्रशासन र बिरामीहरूले ठूलो सास्ती भोग्दै आएका छन् । अस्पतालको एकमात्र एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको तीन वर्ष बितिसक्दा पनि न त्यसको मर्मतसम्भार गरिएको छ, न त नयाँ एम्बुलेन्स नै खरिद गरिएको छ ।
यस अवधिमा सम्बन्धित निकायमा पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै एम्बुलेन्स नहुँदा भाडाका ट्याक्सी तथा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । पछिल्लो ६ महिनामा अस्पतालले ट्याक्सी र रेडक्रसको एम्बुलेन्स भाडामा करिब डेढ लाख रुपैयाँ खर्च गरिसकेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलका अनुसार एम्बुलेन्स नहुँदा स्वास्थ्य सेवा प्रवाहमा आत्मविश्वासको कमी हुने गरेको छ । ‘एम्बुलेन्स नहुँदा बालरोग विशेषज्ञले शल्यक्रिया गर्न मान्नुहुन्न । त्यसैले अहिले रेडक्रससँग समन्वय गरी उहाँहरूको एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरेका छौं, जसले थोरै भए पनि ढुक्क भएर काम गर्न सघाएको छ,’ उनले भने ।
आफ्नै एम्बुलेन्स उपलब्ध भए आकस्मिक कक्षका बिरामीलाई बिनाझन्झट ठूला अस्पतालमा रिफर गर्न सकिने डा. पौडेल बताउँछन् । ‘अहिले एम्बुलेन्स अभावका कारण बिरामीको उपचारभन्दा पहिले फलेवास, पाङ वा आर्थरतिर रहेका एम्बुलेन्स खोज्न हतारिनुपर्छ । अस्पतालकै एम्बुलेन्स भए आफ्नै डाक्टर र अक्सिजनसहित बिरामी पठाउन सकिन्थ्यो, तर ट्याक्सी वा बाहिरका सवारीमा त्यो सुविधा दिन कठिन छ,’ उनले थपे ।
अस्पतालले महिनामा करिब १५ जना बिरामीलाई थप उपचारका लागि पोखरा रिफर गर्दै आएको छ । सरकारी नियमअनुसार २८ दिनभित्रका नवजात शिशु र गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । तर आफ्नै सवारी साधन नहुँदा प्रत्येक पटक ३ हजार ५ सय रुपैयाँका दरले भाडा तिरेर बिरामी पोखरा पठाउनुपर्ने बाध्यता छ । ट्याक्सीमा बिरामी पठाउँदा सम्बन्धित ठूला अस्पतालले समेत गम्भीरताका साथ नलिने भएकाले अस्पतालकै एम्बुलेन्स अत्यावश्यक रहेको उनको भनाइ छ ।
जिल्लाकै ठूलो सरकारी अस्पतालमा एउटा पनि एम्बुलेन्स नहुनु बिरामीको स्वास्थ्यमाथिको खेलबाड भएको कुश्माका खगेन्द्र पौडेल बताउँछन् । पर्वतका साथै छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङ जाने मुख्य राजमार्गमै अस्पताल रहेकाले यस क्षेत्रमा सवारी दुर्घटनाका घटना भइरहने र यस्ता गम्भीर बिरामीलाई तत्काल पोखरा पुर्याउन निजी सवारी प्रयोग गर्दा महँगो र असुरक्षित हुने गरेको उनको भनाइ छ ।
एम्बुलेन्स व्यवस्थापनका लागि तीनवटै तहका सरकारसँग निरन्तर माग गरिँदै आएको भए पनि सुनुवाइ नभएको प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियारले बताए । ‘तीनै तहका सरकारबाट आश्वासन प्राप्त भइरहेको छ,’ उनले भने, ‘तर, हालसम्म एम्बुलेन्स पाउन सकेका छैनौं ।’
६५ शय्या क्षमताको प्रदेश अस्पताल पर्वतमा दैनिक ३ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । बिहान ७ देखि साँझ ७ बजेसम्म ओपीडी र २४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन भइरहेको यस अस्पतालमा फिजियोथेरापी, हेमोडायलिसिस, भिडियो एक्सरे, आँखा तथा दन्त सेवालगायतका सुविधा उपलब्ध छन् ।






