पर्वत/पर्वतको बिहादी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दै आएका हल गोरुको संरक्षण तथा स्थानीय गाईको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकलाई अनुदान तथा सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको पशु विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘हल गोरु पाल्ने कृषकलाई अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र हल गोरु पाल्ने कृषकलाई प्रतिहल गोरु १० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ । यस कार्यक्रमका लागि गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अनुदान प्राप्त गर्न इच्छुक हल गोरु पाल्ने कृषकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । आवेदनसँग निवेदन, वडा कार्यालयको सिफारिस, निवेदकको नागरिकताको प्रतिलिपि, नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि, बिमा पोलिसिको प्रतिलिपि र हल गोरुको ट्यागसहितको कलर फोटो पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । रीत नपुगेका वा म्याद नाघी प्राप्त भएका आवेदन छनोटमा समावेश गरिने छैन ।
गाउँपालिकाले स्थानीय लोकल गाई संरक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि स्थानीय तथा लोकल बहरबाट ब्याएका लैनो गाईभएका स्थानीय गाईपालक कृषकलाई सुत्केरी भत्ता उपलब्ध गराइनेछ ।
यस कार्यक्रमका लागि एक लाख २५ हजार रुपैयाँ बजेट छुट्टाइएको छ भने प्रत्येक सुत्केरी गाईका लागि दुई हजार पाँच सय रुपैयाँका दरले भत्ता प्रदान गरिनेछ । स्थानीय गाई संरक्षण कार्यक्रमअन्तर्गत कृषकले निवेदन, वडा कार्यालयको सिफारिस, निवेदकको नागरिकताको प्रतिलिपि, सुत्केरी गाईको बाछा÷बाछीसहितको फोटो तथा नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले स्थानीय कृषि प्रणाली र पशुपालनको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन् । परम्परागत रूपमा कृषि कार्यमा प्रयोग हुँदै आएका हल गोरुको संरक्षणसँगै स्थानीय जातका गाईको संख्या बढाउन सके स्थानीय पशु सम्पदाको संरक्षण, कृषकको आम्दानी वृद्धि र कृषि प्रणालीको दिगोपनमा योगदान पुग्ने उनको भनाइ छ ।
अध्यक्ष गुरुङले कृषकलाई प्रोत्साहित गर्दै स्थानीय पशु स्रोतको संरक्षण र उत्पादनमूलक पशुपालनलाई प्राथमिकतामा राखेर गाउँपालिकाले कार्यक्रम अघि बढाएको बताए । पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रिकीकरण बढ्दै जाँदा हल गोरु पाल्ने कृषकको सङ्ख्या घट्दै गएको अवस्थामा गाउँपालिकाको अनुदान कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको छ । स्थानीय जातका गाई संरक्षणका लागि दिइने सुत्केरी भत्ताले कृषकलाई स्थानीय गाई पाल्न प्रोत्साहन गर्नुका साथै स्थानीय पशु नस्ल संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको अध्यक्ष गुरुङले बताए ।






