मकैबारीमा अन्धाधुन्द डोजर चलाएपछि स्थानीयबासी आक्रोशित

पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोट साविक वडा नं ८ को मकैबारीमा अन्धाधुन्द डोजर चलाएर सडक खनेपछि स्थानीयबासी आक्रोशित भएका छन् ।  सत्य महाकाली देवी भगवती मन्दिरको गुठी जग्गामा समितीको सरसल्लाह र मन्जुरी विना असारको समयमा डोजर चलाएपछि उनीहरू आक्रोशित भएका हुन् ।

कुश्मा नगरपालिका वडा नं २ को २ लाख वजेट विनियोजन भएको उक्त योजनामा स्थानिय संग छलफल र सल्लाह नगरिकनै एकोहोरो डोजर चलाईएको मन्दिर संचालक समितिका अध्यक्ष गीता पौडेलले जानकारी दिईन । मन्दिर सञ्चालक समितिको वैठक वसी सडक निर्माणको निकास दिने सरसल्लाह हुँदैगर्दा एकाविहानै  डोजर चलाएको समितिका सचिव ठाकुरबहादुर खत्रीले जानकारी गराए ।

उक्त कार्यका विरूद्द जिल्ला प्रशासन कार्यालय पर्वत, कुश्मा नगरपालिका र वडा न २ को कार्यालयमा अनाधिकृत सडक निर्माण कार्य रोक्का गर्न निबेदन दिईने कुरा समितिका सदस्य तेज बहादुर क्षत्रीले जानकारी दिए ।

बर्खाको समयमा गुठीमा लगाएको मकै पनि हटाउन नदिई जानकारी विना वडा सदस्य क्षत्र बहादुर क्षेत्रीले मनोमानी डोजर चलाएर गुठिको जग्गा हिनामिना वनाएको सदस्य तेज वहादुर क्षेत्रीले जानकारी गराए । सडकको निकासका लागी मन्दिर समितिमा छलफल हुदाहुदै एकोहोरो गुठीको जग्गामा मात्रै डोजर चलाउनु खेदजनक रहेको अध्यक्ष गिता पौडेलले बताईन ।

कुश्मा नगरपालिकावाट अमलाको वुटामुनि देखि धनसारेसम्म गोरेटो वाटो निर्माण शिर्षकमा उक्त रकम विनियोजन भए पनि विना लागत ईस्टिमेट अन्धाधुन्द मोटर वाटो खनिएको छ । यस सम्वन्धमा वडा कार्यालयमा मन्दिर संचालक समितिले सडक निर्माण कार्य रोक्का गर्न दिएको निवेदन उपर वडा कार्यालयले कुनै वास्ता नगरेको मन्दिर समितिको आरोप रहेको छ । आज भने वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले भोलि असार १५ गते वडामा दुबैपक्ष वोलाएर छलफल गर्ने जानकारी दिनुभयो ।