पर्वत/नगरपालिकाले भुमि बैंकमा जग्गा उपलब्ध नगराउने तर तीन वर्षभन्दा बढी समयसम्म जग्गा बाँझो राख्ने जग्गाधनीलाई भुमिकरमा २५ प्रतिशत जरिवाना लगाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दै नगर प्रमुख विवश चिन्तनले नगरपालिकाले भूमि बैंकको अवधारणा लागु गरी बाँझो जमिनलाई भूमि बैंकमार्फत उपयोगमा ल्याउने प्रक्रिया थालनी गरेको बताए । ‘अवधारणाअनुरुप भूमि बैंकमा जग्गा उपलब्ध नगराउने तर तीन वर्षभन्दा बढी जग्गा बाँझो राख्ने जग्गाधनीलाई भूमिकरमा जरिवाना लगाइने छ,’ उनले भने ।

सार्वजनिक र सरकारी जग्गा तथा सो जग्गामा निर्मित संरचनाहरूमा बहाल बिटौरी कर लगाउने पनि उनले बताए । नगरपालिकाले सार्वजनिक सम्पत्तिको अभिलेख सार्वजनिक गर्ने र त्यसको उचित उपयोग संरक्षण तथा सम्वर्द्धन गर्ने नीति कार्यान्वयन गर्ने, नगर क्षेत्रभित्रका सार्वजनिक, पर्ति, ऐलानी जगाहरूको पहिचान गरी हरेक वडामा कम्तीमा एक स्थानमा फलफूल बगैँचा निर्माण सुरुवात गर्ने पनि उनले बताए ।
बाँदर प्रकोप बढी भएका स्थानहरूमा सम्भाव्यताको आधारमा बाँदरले नष्ट नगर्ने किसिमका बालीहरू खुर्सानी, अदुवा, बेसार, जौ, टिमुर, कटहर, कागती खेतीका लागि प्रोत्साहन गर्ने पनि नगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।‘वनको बाँदर वनैमा’ भन्ने नाराका साथ बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुको प्रकोपबाट बालीनालीलाई संरक्षण गर्न जनावरको अधिकारलाई मध्येनजर गरी आवश्यक प्राकृतिक उपाय अबलम्वन गरिने पनि उनले बताए । यसका लागि जंगलमा फलफूलका बिरुवा रोप्ने अभियान सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिने चिन्तनले बताए ।
लोक कल्याणकारी किसान कोषमार्फत रैथाने बालीहरू घैँया धान, कोदो, मास भटमास, तिललगायतका बालीको व्यवसायीक उत्पादन साथै दुध र मासुमा आत्मनिर्भर बनाउने, स्थानीय रुपमा किसानहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणलाई व्यवस्थित गर्न कृषि हाटबजार सञ्चालनलाई थप सुदृढ गर्ने, किसानको उत्पादनलाई हाटबजारसम्म पहुँचका लागि कृषि एम्बुलेन्स सेवालाई व्यवस्थित र क्षेत्र विस्तार गरी सञ्चाल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालुङटार नगरपालिकाभित्रका किसाकको सूचीकरण पहिचान तथा वर्गीकरण गरी किसान परिचयपत्रमार्फत किसानको आर्थिक र सामाजिक विकासको लागि आवश्यक पर्ने सेवा र सुविधा प्रदान गरिने, माटो परीक्षण कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।





