पर्वत /गुप्तेश्वर बहुमुखी क्याम्पस र शिबालय बहुमुखी क्याम्पस एकीकरण भएर बनेको कुश्मा बहुमुखी क्याम्पस कुश्माकै शैक्षिक गौरव भएकोले यसलाई माया गर्न सञ्चालक समितिले समुदायसँग अपिल गरेको छ । क्याम्पस प्राङ्गणमा आज आयोजित पत्रकार सम्मेलनमार्फत क्याम्पस सञ्चालक समितिले समुदायसँग यस्तो अपिल गरेको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोबिन्द पहाडीले कुश्मा क्याम्पस कुश्माको शैक्षिक गौरव भएकोले यसलाई सबैले माया गर्नुपर्ने बेला आएको वताउनु भयो । -‘दुई क्याम्पस वीचको एकीकरणले कुश्माको सामाजिक, शैक्षिक र भावनात्मक एकीकरण समेत भएको हामीले अनुभव गरेको छौं, यो कुश्माको साझा सम्पत्ति हो, त्यसैले यसको संरक्षण गर्ने जिम्मेवारी पनि यही समुदायकै छ ।’- क्याम्पस सञ्चालक समितिका अध्यक्ष पहाडीले भन्नुभयो ।
२०४८ सालमा स्थापना भएको गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पस एकीकरण गरि कुश्मा बहुमुखी क्याम्पस नामकरण गरिएको हो । सामान्यतया दुई क्याम्पस एकीकरण गर्दा एउटा अर्को संग विलय हुने प्रक्रिया भए तापनि पर्वतमा एकीकरण गरिएको विधि देश भरिकै नमुना अभ्यास भएको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो । ‘हामीले निकै लामो अभ्यास पछि दुई क्याम्पसहरु एकीकरण गर्न सफल भयौ, एकीकरण पछि बनेको कुश्मा क्याम्पसमा दुवै क्याम्पसको सह–अस्तित्व सुरक्षित छ ।’- उपाध्यक्ष कर्माचार्यले भन्नुभयो ।
जनसंख्या घट्दो दरमा रहेको साथै युवाहरु विदेश जाने लहर सँगै विद्यार्थीहरुको संख्या क्याम्पसमा कम हुँदै गएको भएपनि क्याम्पस एकीकरण पछि अभिभावक र विद्यार्थीको केही आकर्षण बढेका कारण कुश्मा क्याम्पसमा यसबर्ष भर्ना हुनेको संख्यामा वृद्धि भएको क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले जानकारी दिनुभयो । क्याम्पस प्रमुख उपाध्यायका अनुसार क्याम्पसमा हाल ३७८ जना विद्याथीहरु रहेकोमा ६५ जना विद्यार्थीहरुले विभिन्न संघ संस्थाहरुवाट छात्रवृत्ती प्राप्त गरेको र २० जनाले आन्तरिक स्रोतवाट छात्रवृत्ती प्राप्त गरेका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले दुइ क्याम्पस एकिकरण गरि नयाँ नामकरण गरि सञ्चालन गरिएकोमा नमुना कार्य भएको बताउदै क्याम्पस एकीकरणले एकताको शन्देश दिएको वताउदै भविस्यमा थप प्रगतिको कामना गर्नुभयो ।
एकीकृत क्याम्पसले यही जेष्ठ २३ गते शनिवार प्रथम बार्षिकोत्सव सम्पन्न गर्दैछ । कम्तिमा दुई कार्यकाल सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रतिवद्धता सहित अघि बढेको क्याम्पस सञ्चालक समितिले यो क्याम्पसलाई आङ्गिक क्याम्पसको मान्यता दिलाउन पहल गर्ने वताएको छभने छिट्टै विविए सञ्चालन गर्नेदेखि शैक्षिक संवाद र समुदायसँग स्वैच्छिक सहयोग अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।





