पर्वत/पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका ६ वर्षीय प्रियान्सु सहनी नदीमा बेपत्ता भएका हुन् ।
कालीपुलमा डेरा गरी बस्दै आएका दुर्गेश कुमार मल्लका छोरा प्रियान्सु आफ्नै ठुला बुबाको छोरा १० वर्षीय ऋतिक सहनीसँग पर्वतको जलजला गाउँपालिका–३ कालीपुलमा रहेको पँधेरोमा बिहीबार साँझ पानी लिन गएका थिए ।पानी भर्ने क्रममा अचानक चिप्लिएर कालीगण्डकीमा खसेका प्रियान्सु बेपत्ता भएका हुन् । उनको उद्धारको लागि प्रहरी चौकी वारी बेनी पर्वतबाट प्रहरी खटिएको भए पनि उनको अवस्था अज्ञात रहेको छ । उनले लगाएको चप्पल भने पँधेरोमा नै फेला परेको प्रहरीले बताएको छ ।उनको खोजीका लागि बिहीबारदेखि नै सुरक्षाकर्मीहरू खटिरहेको भए पनि अवस्थाका बारेमा पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ ।
बेनी बजारको क्षेत्रमा कालीगण्डकी नदी बजारमै जोडिएकोले विगतमा पनि यस्ता घटनाहरू पटक पटक भइरहेका छन् । बेनी बजार नदीको किनारसँगै जोडिएकोले पानी भर्न जाँदा, खेल्दा, पौडी खेल्न जाँदा पनि बालबालिकाहरू नदी खसेका तथा बगेका घटनाहरू विगतमा पनि भएका छन् ।







