पर्वत/नेपाल पत्रकार महासंघ पर्वतको १४ औं साधारणसभा पर्वतको महाशीलामा सम्पन्न भएको छ । साधारणसभामा पर्वतमा क्रियाशिल विभिन्न पत्रकारलाई पुरस्कृत गर्नुको साथै महासंघको स्थापनाकालदेखि हालसम्म नेतृत्व गरिसकेका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ ।
महासंघको सिर्जनशील पत्रकारिता पुरस्कारबाट जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकारहरु छविलाल तिवारी, प्रनिश गिरी र गणेश गिरीलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ पर्वतले जिल्लामा क्रियाशील रहेर सञ्चार तथा पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मीलाई वार्षिक रुपमा पुरस्कृत गर्ने उद्देश्यले सिर्जनशील पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ । पत्रकार महासंघ पर्वतले विभिन्न समयमा महासंघको अध्यक्ष रहि संगठनको नेतृत्व प्रदान गरिसकेका पूर्व अध्यक्षहरु ओमप्रसाद शर्मा घायल, छविलाल तिवारी र सन्तोष थापालाई समेत सम्मान पत्रसहित सम्मान छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी सरकारका माननीय मन्त्री उद्योग तथा पर्यटन मन्त्रालय यशोदा रिमालले पुरस्कृत पत्रकारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । पर्यटन मन्त्री रिमालले गण्डकी प्रदेश सरकार जहिल्यै पत्रकारको हकहितको पक्षमा रहेको बताउँदै भन्नुभयो, गण्डकी प्रदेश आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय हब हो । पर्यटन क्षेत्रको विकास गरी आर्थिक सम्वृद्धि हासिल गर्न पत्रकारहरुले लुकेका पर्यटकीय गन्तव्यहरुको खोजी गर्ने र प्रवर्धन गर्न व्यापक प्रचारप्रसार गर्नुपर्छ ।’ धार्मिक तथा सांस्कृति महत्व रहेको पालिकाको महाशीला धामको पर्यटन प्रवद्र्धनको उद्देश्य सहित पत्रकार महासंघ पर्वतको साधारणसभा महाशीला गाउँपालिकामा आयोजना गरिएको बताइएको छ । पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा आयोजित साधारणसभा कार्यक्रममा पूर्व पर्यटन मन्त्री मित्रलाल बस्याल, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, गाउँपालिका अध्यक्ष ईश्वरी प्रसाद भुषाल, पत्रकार महासंघ केन्द्रिय सदस्य छविलाल तिवारी, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, महाशीला पालिकाका संस्थापक अध्यक्ष राजु पौडेल, प्रेस काउन्सिल नेपाल संपरिक्षण समिति सदस्य हरिओमशर्मा लामिछाने, उवासंघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे, पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष हरिकृष्ण गौतम लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरुको हकहित संरक्षणका लागि पत्रकारहरुको भूमिका थप प्रभावकारी बनाउनु पर्ने धारणा राखेका थिए ।साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रमहरु अनुमोदन गरेको जनाइएको छ ।






