पर्वत/अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्। लप्सी जिल्लाको रूपमा परिचित जिल्लामा यो वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ। जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका-४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ।
बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ। विगत डेढदशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै ७० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखको छ। उद्योगमा यो वर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ।
अहिले गाउँ गाउँबाट लप्सी सङ्कलन गर्ने र अचार, माडा बनाउने तथा क्याण्डिका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए। पर्वतमा झण्डै दुई सय मेट्रिक टन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनले बताए। बाँकी केही किसानले बोटबाटै दाना बिक्री गर्दै आएका छन्,भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेको गुनासो उनले गरे।
जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ। अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ।
भुसालले सञ्चालन गरेको उद्योगमा आफू बाहेक सात जनालाई रोजगारी दिएका छन्। लप्सीसँगै अमला, अदुवा लगायतका परिवार बनाएर हुने कूल आम्दानीबाट खर्च कटाएर वर्षमा रु १० देखि १२ लाखसम्म बचत हुने गरेको उनले बताए।
चार वर्ष पहिले उत्पादित लप्सीका १० लाख बराबरका परिकार अमेरिका पठाउनुभएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताउनुभयो। नेपालीहरूले विदेश फर्किदा कोसेलीको रूपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ।
जिल्लाका ४० वडामा लप्सीको उत्पादन हुँदै आएको छ। कुनै वेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो। वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती शुरु भएको छ। सामुदायिक खाद्य प्रशोधन उद्योगले किसानलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरुवा वितरण गर्दै आएको छ।






