पर्वत/जिल्लाकै सबैभन्दा ठूलो व्यापारिक तथा सांस्कृतिक आयोजनाका रूपमा चिनिएको आठौँ पर्वत महोत्सव यहि पौष ९ गतेदेखि १९ गतेसम्म हुँदै छ । महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। महोत्सव स्थलमा बाल उद्यान तथा रमाइलो मेलाका सामग्रीहरू आइपुगेका छन्, भने मुख्य स्टेज निर्माण र व्यापारिक स्टल निर्माणको काम पनि अन्तिम चरणतर्फ अघि बढिरहेको छ ।
पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवलाई व्यवस्थित, आकर्षक र सबै उमेर समूहका दर्शकका लागि रमाइलो बनाउने उद्देश्यले तयारी गरिएको प्रचारप्रसार विभाग प्रमुख खड्ग प्रसाद खनालले जानकारी दिए । उनका अनुसार बालबालिका, युवा तथा परिवार लक्षित विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिँदैछ । उनले भनेका छन्, “बाल उद्यान रमाइलो मेलाका सामग्री आइपुगेका छन्। स्टेज र स्टल निर्माणको काम तीव्र रूपमा भइरहेको छ । दर्शकलाई आकर्षित गर्ने कार्यक्रमहरू तयारीमा छन्।”

महोत्सवले स्थानीय उत्पादन, व्यापार, पर्यटन र संस्कृतिको प्रवद्र्धन गर्ने पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर वि पौडेलले बताए । उनले महोत्सवलाई पर्वतको पहिचान बनाउने लक्ष्यका साथ सबै पक्ष जुटिरहेको उल्लेख गरेका छन् । पौडेलले भने, “आठौँ पर्वत महोत्सव जिल्लाकै सबैभन्दा ठूलो आर्थिक र सांस्कृतिक उत्सव हो। स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण योगदान पुयाउनेछ।”
त्यस्तै महोत्सवका आर्थिक संयोजक कमल जिसीले आर्थिक व्यवस्थापनलाई पारदर्शी र अनुशासित ढङ्गले अघि बढाइएको बताए । आवश्यक बजेट व्यवस्थापन, स्टल शुल्क र खर्च प्रणालीलाई व्यवस्थित गरिएको उनको भनाइ छ । उनले भनेका छन्, “महोत्सवको आर्थिक पक्षलाई पारदर्शी र व्यवस्थित रूपमा व्यवस्थापन गरि सबै खर्च र स्रोत साधन जिम्मेवारीपूर्वक मितव्यापी तरिकाले परिचालन गर्नेछौँ ।”

यतिवेला महोत्सवको आकर्षणको रुपमा रहेको झण्डै डेढ लाख पुरस्कार राशीको खुल्ला लोक तथा दोहोरी गीत प्रतियोगिता, भजन प्रतियोगिता, र टिकटक च्यालेन्ज प्रतियोगिताका लागि धमाधम टिम दर्ता गराउने काम भैरहेको छ । टिकटक प्रतियोगिताको पुरस्कार जीत्न महोत्सव सम्बन्धि टिकटकहरुका कन्टेन्ट बनाउन आयोजकले आग्रह गरेको छ । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति रहनेछ। साथै झाँकीसहित कला, संस्कृति र परम्परा झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिनेछन्।
त्यसैगरी विभिन्न जातजाति र समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेका नृत्य, भेषभूषा र लोकसङ्गीत दर्शकका लागि मुख्य आकर्षण बन्ने आयोजकले जनाएको छ । महोत्सवमा कृषि प्रदर्शनी मार्फत जिल्लामा उत्पादन हुने कृषि उपज, आधुनिक कृषि प्रविधि, स्थानीय बीउबिजन र कृषिजन्य सामग्रीको प्रदर्शनी तथा जानकारीमूलक स्टलहरू रहनेछन्।
यसका साथै स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग, व्यापारिक स्टलहरू,हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनको प्रदर्शनी तथा बिक्री,पर्यटन प्रवद्र्धनात्मक सामग्री र जानकारी केन्द्र,खाद्य महोत्सव ९स्थानीय परिकार र स्वाद०, बाल उद्यान, रमाइलो मेला तथा मनोरञ्जनात्मक खेलहरू, युवा लक्षित नवप्रवर्तन, उद्यमशीलता र सीप प्रदर्शनी, सामाजिक सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया समावेश गरिनेछ । योजकका अनुसार आठौँ पर्वत महोत्सवले विगतका महोत्सवमा भन्दा फरक किसिमका मनोरञ्जन, व्यापार, कृषि, संस्कृति र पर्यटनको साझा उत्सवका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।







