भदौ २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड गर्ने विरुद्ध काँग्रेस एमालेले दिए किटानी जाहेरी

पर्वत/ भदौ २४ गते जेनजीको आवरणमा भैरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ ।

नेपाली काँग्रेस पर्वत र नेकपा एमाले पर्वतले बुधवार संयुक्त रुपमा जाहेरी दिएका हुन् । बुधवार दिउँसो नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी सहित पदाधिकारी र नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द पहाडी सहित पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर जाहेरी दर्ता गरेका हुन् ।

उनिहरुले आगजनी र तोडफोडमा संलग्नहरुको तस्विर, भिडियो फुटेज र विवरण सहित जाहेरी दर्ता गरेका हुन् । जेनजीको आवरणमा अपराधिक कर्ममा संलग्नहरु अहिलेपनि समाजमा छाती फुलाएर हिडिरहेको र यसले समाजमा थप अराजकता र द्वन्द्व निम्तिन सक्ने भन्दै तत्काल पक्राउ गरी कारबाहीको दायरमा ल्याउनुपर्ने माग उनिहरुको छ । अराजकता मच्चाउनेमा अधिकांस कुलताम लागेका, लागु औषध प्रयोगकर्ता, प्रहरीमा विभिन्न समयमा मुद्धा परेकाहरु रहेको जाहेरीमा उल्लेख छ ।

पटक पटक प्रहरी प्रशासनलाई कारबाही गर्न मौखिक र लिखत रुपमा माग गरिएपनि सुनुवाई नभएपछि जाहेरीनै दर्ता गरिएको नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले बताउनुभयो । अपराधिक कर्ममा संलग्न र संलग्न गराउन उक्साउनेहरु को को हुन् भन्ने बारेमा भिडियो र फुटेजहरुमा छर्लङ्गै रहेको बताउँदै अहिलेपनि उनिहरु जेनजीको आवरणमा अफवाह फैलाउँदै हिडिरहेको उहाँले बताउनुभयो । जोशीले यदि प्रहरी प्रशासनले कारबाही गर्दैन भने काँग्रेस र एमाले आफैले कारबाही गर्ने र यसवाट पर्न जाने थप असरप्रति सरकार जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिनुभएको छ ।

नेकपा एमालेका अध्यक्ष गोबिन्द पहाडीले आज पार्टी कार्यालय र पुर्व मन्त्री पदम गिरीको घरमा आगजनी गर्नेहरुले भोली समाजमा कसैलाई  पनि बाँकी नराख्ने भएकाले तत्काल कारबाहीको दायरमा ल्याउन आग्रह गर्नुभयो । यदि प्रहरीले सहयोग मागेमा राजनीतिक दलहरुले उनिहरुलाई पक्राउ गर्न आवश्यक सहयोग गर्ने उहाँको भनाई छ ।

हामी कानूनी शासनको पक्षमा छौ, यदि प्रहरी प्रशासनले कारबाहीको दायरमा ल्याउँछ भने ठिक छ हैन भने हामी आफै पक्राउ गरेर प्रहरीलाई बुझाउँछौँ । प्रहरी प्रशासन मौन बसेर कसरी शान्ति सुरक्षा कायम हुन सक्छ, कसरी निर्वाचन हुन सक्छ उहाँले भन्नुएको छ । उहाँले भन्नुभयो–त्यस्ता व्यक्तिहरु अहिले विभिन्न नाममा र विभिन्न आवरणमा बजार, विभिन्न पालिकाहरुमा जाने धाकधम्की दिने जस्ता अराजकता मच्चाउँदै हिडिरहेका छन् । अहिले जाहेरी मात्र दिईएको र कारबाही नभएमा किटानी जाहेरी समेत दिने उहाँको भनाई छ ।

भदौ २४ गते भएको आगजनीवाट नेकपा एमालेको पार्टी कार्यालयमा ४४ लाख भन्दा बढि, नेपाली काँग्रेसको कार्यालयमा साढे २१ लाख, पुर्वमन्त्री पदम गिरीको घर र माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी गरेका थिए । त्यस्तै शहिद गोबिन्दनाथ शर्मा र अमृतप्रसाद जोशीको शालिकमा तोडफोड गरेका थिए ।
जाहेरी बुझ्‌दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बिजय यादबले जाहेरीको आधारमा भोलीदेखिनै सुक्ष्म अनुसन्धान शुरु गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । अहिलेसम्म अनुसन्धान र कारबाहीको वातावरण बन्न नसकेको बताउँदै अब भोलीदेखिनै आवश्यक अनुसन्धान प्रकृयालाई अघि बढाउने बताउनुभयो ।