पर्वत/नेकपा (एमाले) जिल्ला कमिटी पर्वतले शुक्रबार सदरमुकाम कुश्मा बजारमा बृहत र्याली तथा जनसभा गर्ने भएको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा मच्चिएको विध्वंसलाई लोकतन्त्र र संविधानमाथिको आक्रमण ठहर गर्दै त्यसको विरोधमा जनसभा गर्न लागिएको एमालेले जनाएको छ।
अध्यक्ष गोबिन्द पहाडीका अनुसार दिउँसो वडागाउँबाट सुरु हुने र्यालीले बजार परिक्रमा गरी पार्टी कार्यालय नजिकैको मञ्चमा सभामा परिणत हुनेछ। र्यालीलाई आकर्षक बनाउन पञ्चेबाजा, लाखेनाच, भजनकीर्तन र विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछ।
कार्यक्रममा जिल्लाका सबै तहका पार्टी संरचना, जनप्रतिनिधि र शुभेच्छुकहरूको सहभागिता रहने जनाइएको छ। अध्यक्ष पहाडीले लोकतन्त्र र गणतन्त्रविरुद्धका गतिविधिलाई सचेत गराउन र जनचेतना जगाउन यो र्यालीले महत्त्वपूर्ण सन्देश दिने बताउनुभयो।
पत्रकार सम्मेलनमा अध्यक्ष पहाडीले निर्वाचनबाट एमाले कहिल्यै नभागेको र अब पनि नभाग्ने स्पष्ट गर्दै जेनजी आन्दोलनका नाममा हिंसा र तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्न माग गर्नुभयो।
पहाडीले जेनजीको नामा पर्वतका राजनीतिक दलका पार्टी कार्यालय र व्यक्ति घर तथा सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्ने तथा गर्न उक्साउनेहरुलाई पर्वतको प्रहरी प्रशासनले कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोस समेत पोख्नुभएको छ ।
प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश विकले संचालन गरेको कार्यक्रममा एमाले जिला कमिटि सचिब सुवासचन्द्र पौडेलले भोलीको कार्यक्रम र तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।






