पर्वत/प्रतिकूल मौसम र अविरल वर्षाका कारण धान बालीमा ठूलो क्षति पुगेपछि दक्षिण पर्वतका दुई स्थानीय तह बिहादी र पैयूँ गाउँपालिकाले प्रभावित कृषकहरूको वास्तविक अवस्था संकलन गरी राहत दिने प्रक्रिया सुरु गरेका छन्।
बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङको अध्यक्षतामा बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले कात्तिक ११ गतेदेखि परेको असिनापानी र लगातारको वर्षाले धान बालीमा पारेको क्षतिको यथार्थ विवरण संकलन गर्ने निर्णय गरेको हो। सोअनुसार कृषि विकास शाखाको संयोजकत्वमा सम्बन्धित वडा कार्यालय, जनप्रतिनिधि, कर्मचारी तथा प्रहरी चौकीहरूको सहभागितामा बिहादी–२ बराचौर र बिहादी–४ वहाकी क्षेत्रमा प्रत्यक्ष अनुगमन गरी किसानहरूसँगै सम्पर्क राख्दै विवरण संकलन भइरहेको छ।
त्यसैगरी, पैयूँ गाउँपालिकाले पनि निरन्तरको वर्षाबाट धान बालीमा क्षति पुगेका कृषकलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेका अनुसार गाउँपालिकाले वर्षा रोकिएलगत्तै सबै वडामा क्षतिको यथार्थ विवरण संकलन सुरु गरेको छ। उहाँले भन्नुभयो, “मौसमी विपत्तिबाट किसानको बालीमा भएको क्षतिको मूल्यांकन गरी राहत रकम वितरण गर्ने योजना बनाइएको छ, जसले गर्दा कृषकले पुनः अन्न खरिद गरी उपभोग गर्न सकून्।”
दुवै गाउँपालिकाले विपद्को यस्तो अवस्थामा किसानहरूको साथमा रहेर सहयोग पुर्याउने प्रतिवद्धता जनाएका छन्। लगातारको वर्षाले पाकेको र काटेर खेतमा सुकाइएको धान बालीमा ठूलो नोक्सानी पुर्याएपछि पर्वतका सयौँ कृषक चिन्तित बनेका छन्। स्थानीय तहहरूले राहत र पुनःस्थापनाका कार्यक्रममार्फत किसानलाई पुनःउत्थानमा सहयोग गर्ने तयारी गरेका छन्।






