निर्माण व्यवसायीको लापरवाहीका कारण सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकको हरिविजोग

पर्वत/जिल्लाको सदरमुकाम कुश्मालाई मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकखण्डमा निर्माण व्यवसायीको लापरवाहीका कारण अहिले सडक प्रयोग गर्नै कठिन भएको छ । वैकल्पिक मार्गका रूपमा पोखरा–बागलुङ राजमार्गलाई प्रतिस्थापन गर्ने यो सडकमा दैनिक सयौं सवारीसाधन गुड्ने गर्छन्, तर मर्मत र व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम समेत बढेको छ ।

सिल्मी–ठूलीपोखरी सडकखण्डका पोखरी घुम्ती, लौकेको उकालो लगायतका भागमा सोलिङका ढुंगा उप्काएर लगिएको तर त्यस ठाउँमा ग्राभेल वा मर्मत कार्य नगरेपछि बाटो खाल्टाखुल्टाले भरिएको छ । वर्षायाम सुरु हुन नपाउँदै सडकमा हिलो जम्न थालेको छ, जसका कारण विद्यार्थी, बिरामी र दैनिक यात्रीले सास्ती भोगिरहेका छन् ।

कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलक प्रसाद रिमालले ठेकदारको गैरजिम्मेवारी र समयमै काम नगरेको कारण समस्या थपिएको बताए । “हामीले पटक–पटक बैठक बोलाएर सचेत गराएका छौं, तर निर्माण व्यवसायीले कुनै ध्यान दिएको छैन,” उहाँले भन्नुभयो, “सडक बिग्रिँदा स्थानीयको दैनिक जीवन नै प्रभावित भएको छ ।”

स्थानीय बासिन्दा ढाकाराम सापकोटाका अनुसार सडकमा साना गाडी र मोटरसाइकल गुडाउनै नसकिने अवस्था छ । “वैकल्पिक बाटो छाड्दा हामी पैदल हिँड्न पनि डराउँछौं,” उनले भने, “जनप्रतिनिधिले समेत मौनता साध्दा समस्या झन् बढेको छ ।”

यातायात व्यवसायी सुरेश केसीले निर्माण व्यवसायीको व्यवहार नै समस्या बनेको बताए । “सडक मर्मतको कुरा गर्दा उल्टै गाली बेइज्जती गर्छन्,” उनले भने, “ठेकदार आनन्द बरालले जिम्मेवारी नलिएपछि गुणस्तरीय कामको आश पनि सकिएको छ ।”

यस सडकको अनुगमन र निर्माणको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले भने निर्माण व्यवसायीलाई पटक–पटक निर्देशन दिइए पनि पालना नभएको बताए । “अब जनप्रतिनिधि र स्थानीयले पनि दवाव दिनुपर्छ,” उनले भने, “हामीले तत्काल मर्मत कार्य अघि बढाउन निर्देशन दिएका छौं ।”

पाँच करोड ८० लाख रुपैयाँ लागतको यो पाँच किलोमिटर लामो सडक योजना आर्थिक वर्ष २०८०र०८१ अन्त्यसम्म सम्पन्न हुने लक्ष्य थियो, तर अहिलेसम्म जम्मा २५ प्रतिशत मात्र काम सम्पन्न भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

स्थानीयले सडकको गुणस्तर सुनिश्चित गर्दै तत्काल मर्मत र कालोपत्रे कार्य अघि बढाउन माग गरेका छन् । उनीहरू भन्छन्, “सडक भनेकै जीवनरेखा हो त्यसलाई अलपत्र राख्नेहरूलाई कारबाही हुनैपर्छ ।”