पर्वत/कुश्मा नगरपालिका–५ गुम्बाको डिल र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी ४१५ मिटर लामो झोलुङ्गे पुल बनाउन शुरु भएको छ।
झोलुङ्गे पुलको जिल्लाको रूपमा बागलुङ जिल्ला चिनिए पनि लामा र नदीको सतहबाट अग्ला दूरीमा रहेका झोलुङ्गे पुल हेर्न पर्वत भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ। ती झोलुङ्गे पुलमा ‘मोटरसाइकल’ चलाएर वारपार गर्दै साहसिक यात्रा संस्मरणका लागि पनि पर्यटक आउने गरेका छन्।
लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाको लोकप्रियता पाएको पर्वतलाई नयाँ निर्माण हुन लागेको पुलले पर्यटन प्रवर्धन, कुश्मा र नारायणस्थान तथा आसपासको क्षेत्रसँगको व्यापार, दुई जिल्लाका बासिन्दालाई यात्रामा सहज बनाउने लगायतका फाइदा पुग्नेछन्।
कुश्मा–बलेवा जोड्ने गरी यसअघि निर्माण भएका झोलुङ्गे पुल वन र गाउँ क्षेत्रमा रहेका भए पनि अहिले निर्माण भइरहेको पुल भने कुश्माको मध्य भागमा जोडिँदै छ।
पुल निर्माणका लागि निर्माण कम्पनीले गत भदौमा प्रारम्भिक अध्ययन पूरा गरी केही दिनयता पुलका लागि आधारभूत संरचना निर्माण लागि जमिन खन्ने काम गरिरहेको छ। नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ पुस मसान्तसम्म पुलको निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रा.लि.ले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ।
सङ्घीय सरकारबाट विनियोजन भएको पाँच करोड २६ लाख ८० हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण हुने छ। बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको क्षेत्रफल ठूलो क्षेत्रफलमा रहेको र स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए।
पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी करिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकाले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको भनाइ छ।
अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको ८५ रुपैयाँ तिर्ने गरेका छन्। यस्तै कुश्माबाट बलेवालाई गन्तव्य बनाएर तर्नेले एकतर्फीको ११२ रुपैयाँ तिर्ने गरेका छन्। यो पुल निर्माण भएपछि उक्त बाध्यता हट्नेछ।






