पर्वत /दीपावली पर्वको अवसरमा पर्वत कुश्मास्थित बान्द्रेबिडीचौरमा नेपालको चर्चित ब्याण्ड ‘दी एक्स’ ले साङ्गीतिक धमाका प्रस्तुत गरेको छ । पर्वत कुश्माका केही स्थानीय युवाहरूको संस्था ‘शिवालय युवा विकास मञ्च’ले चाडबाडको सन्दर्भ पारेर भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो । युवाहरु माझ निकै चर्चित रहेको ‘दी एक्सको कुश्मामा यो पहिलो प्रस्तुति हो ।
ब्याण्डले कुश्मामा दर्जन बढी आफ्ना हिटगीतहरू श्रोता दर्शका विच प्रस्तुत गरेको थियो । प्रस्तुति हेर्न बागलुङ, बेनी, पोखरादेखि उनीहरूका श्रोता दर्शक, प्रसंसकहरूको उपस्थिति बाक्लो थियो । सन १९९३ मा काठमाण्डौ मैतिदेविका स्थानीय युवाहरूको साङ्गीतिक मोहकै कारण यस व्याण्डको स्थापना भएको थियो ।
यस व्यान्डले अहिले ३३ वर्षको आफ्नो गौरव र किर्तिमानी यात्रा गरिसकेको छ । ‘एउटा चिठिको साहारले, ठाडो जाने उकालो, चियाबारीमा, फर्केर हेर्दा, लुक्न देउ, सीमाना लगायतका प्राय आफ्ना हिट गीतहरू उसले प्रस्तुत गरेको थियो । प्राय गीतहरूले ‘वान्स मोर’ पाइरहे । करिव डेढ घण्टाको प्रस्तुतिमा उस्ले दर्जनबढी गीतहरू प्रस्तुत गरेर दर्शकलाई नचाइ रह्यो । व्याण्डमा शिव मुखिया भोकल, सुरेन श्रेष्ठ ड्रम र सजल राजभण्डारी गीतारमा रहेका थिए । स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको मञ्चका अध्यक्ष संविधान गिरीले जानकारी दिए ।
कार्यक्रमको आयोजक संस्थाले ‘बान्द्रेवेणी चौर संरक्षण’ को संकल्पका साथ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको पहिलो चरणमा स्थानीय रिदम ब्याण्ड लगाएत नेपाल आइडलका विजेता गंगा सोनाम, डान्सर र गायक दिपेन्द्र सोनाम र अन्य प्रतिभाको समेत प्रस्तुती रहेको थियो । ससुल्क आयोजना गरिएको कार्यक्रममा मार्फत संकलित रकम विविध सामाजिक तथा सामुदायिक विकासका विभिन्न क्षेत्रमा पूर्ण पारदर्शी भएर खर्च गरिने आयोजकले जनाएको छ ।






