नागरिकता लिनेको तुलनामा राहदानी लिनेको संख्या झण्डै दोब्बर

पर्वत/आर्थिक वर्ष २०८१/०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको सङ्ख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको सङ्ख्याभन्दा झण्डो दोब्बर प्रतिशतले बढी रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार वंशजको आधारमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेहरूको सङ्ख्या दुई हजार नौ सय ७२ रहेको छ। उक्त अवधिमा राहदानी निकाल्नको लागि जिल्लाबाट ‘इनरोलमेन्ट’ भएकाहरूको सङ्ख्या पाँच हजार ५४६ तथा द्रुत राहदानी सिफारिस ५१ गरी कुल पाँच हजार ५९७ जनाले राहदानीका लागि फाराम भरेका हुन्।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार १८७ जनाले नागरिकताको प्रमाणपत्र लिँदा छ हजार ८२७ जनाले राहदानी बनाएका थिए। जुन सङ्ख्या जिल्लाबाट राहदानी सिफारिस भई राहदानी जिल्लामा नै आइपुगेपछि वितरण भएकाहरूको हो। जिल्लाबाट राहदानी नबुझेर द्रुत रूपमा राहदानी लिनको लागि जिल्लाबाट सिफारिस लगेकाहरूको सङ्ख्या २७४ रहेको थियो।

देशमा बेरोजगारी समस्या, राजनीतिक अस्थिरता लगायतका कारण युवा पुस्ता वैदेशिक रोजगारी तथा सम्भव भएसम्म पारिवारिक वैदेशिक बसाइसराइको क्रम बढिरहेको छ। ग्रामीण क्षेत्रमा रहेका उत्पादनयोग्य भूमि बाँझो छाडेर गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायतको खोजीमा बजारमा सर्ने तथा रोजगारीका लागि विदेश जाने क्रमले जिल्लाका धेरै गाउँहरू रित्ता हुँदै गएका छन्।

कार्यालयको तथ्याङ्क अनुसार नयाँ नागरिकताको प्रमाण पत्र लिनेहरूको सङ्ख्याभन्दा पुरानो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निकाल्नेहरूको सङ्ख्या पनि बढी छ। एक वर्षमा वंशजको आधारमा दुई हजार नौ सय ७२ जनाले नागरिकता प्राप्त गर्दा तीन हजार ५९९ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन्।

एक वर्षको अवधिमा कार्यालयबाट १९ वटा गैरआवासीय नागरिकता र दुई वटा अ्रगीकृत नागरिकता वितरण भएका छन्। यस्तै ४१८ वटा नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्रका लागि ११ हजार ७८० जनाको विवरण सङ्कलन तथा छ हजार ८९१ जनालाई परिचय पत्र वितरण गरिएको पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।