पर्वत/ कुश्मा नगरपालिकामा छाती रोग सम्बन्धि खोजपड्ताल शिविर गरिने भएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा र कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यही चैत्र ३० गते कुश्मा बजारस्थित कुश्मा बहुमुखी क्याम्पसको प्राङ्गणमा शिविरको आयोजना गरिएको विहिवार कुश्मामा आयोजित अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएको छ ।
जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)को सहयोग, कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा हुने उक्त शिविरमा एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मेशिनबाट विशेषज्ञ चिकित्सक सहितको टोलीले छातीको एक्सरे र स्वास्थ्य परीक्षणमा गर्नेछ ।
दिर्घरोगी, बयोवृद्धा, क्षयरोगको सम्पर्कमा आएका जोखिमपूर्ण समूहलाई लक्षित गरि शिविरको आयोजना गरिएको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । नगरप्रमुख जोशीले टिवी क्यान्सरपछिको दोश्रो जटिल रोग भएकोले यसको उचित खोजपड्ताल र उपचार आवश्यक रहेको भन्दै यो शिविरमार्फत बढीभन्दा बढि लाभ लिन नगरबासीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराका ल्याव टेक्निसियन राजेन्द्र रानाभाटले लाज र डरले रोग लुकाएर बस्न नहुने भन्दै टिवि स्क्रिनिङ शिविरबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो । रानाभाटले सबै स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुने औषधी नियमित सेवन गरेमा समयमै रोग निको हुने हुँदा नडराउन, नआत्तिन तथा रोग नलुकाउन क्षयरोगका विरामीलाई सुझाव दिनुभयो । उहाँले निरन्तर ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, वाकवाक हुने, खकारमा रगत लगायतका लक्षण देखिएमा क्षयरोग हुन सक्ने भन्दै शिविरमा एआइ एक्सरे मेसिनबाट बिरामीको स्वास्थ्य परीक्षण गरिने जानकारी समेत दिनुभयो ।
उक्त शिविरमा छाती सम्वन्धी कुनैपनि समस्या भएका व्यक्तिलाई उपस्थित भई सेवा लिन आग्रह गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले जानकारी दिनुभयो ।
क्षयरोग मुक्त नेपाल घोषणा अभियानको लागि सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रमको अभिमुखीकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, प्रादेशिक स्वास्थ्य कार्यालय पर्वतका प्रमुख वद्रीराज आचार्यसहित कुश्मा नगरपालिकाभित्रका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको थियो । ३० गते विहान ७ बजेदेखि साँझ५ बजेसम्म हुने शिविरमा नगरभित्रका ५ सय भन्दा बढि व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य छ ।






