पर्वतका महिला पत्रकारका लागि डिजिटल साक्षरता तथा नेतृत्व विकास तालिम

पर्वत /जिल्लाका महिला पत्रकार डिजिटल साक्षरता एवम् रूपान्तरणकारी नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा दुई दिने तालिम शुक्रवारदेखि सुरु भएको हो । तालिमको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले उद्घाटन गर्नुभएको छ ।
तालिमको उद्घाटन गर्दै विकले पत्रकारितामार्फत जिल्लाको विकास र परिवर्तनमा धेरै टेवा पुगेको बताउनुभयो । उहाँले दुरदुराजमा लुकेर रहेका समाचारहरूलाई आम सञ्चारका माध्यममा प्रकाशन प्रसारण गर्नका लागि पत्रकारहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।पछिल्लो समय एउटै समाचारलाई चोरी गरेर विभिन्न माध्यमबाट गलत ढङ्गले प्रयोग भइरहेको भन्दै विकले यसलाई पूर्ण रूपमा हटाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले महिला पत्रकारहरूको क्षमता विकास र उनीहरूलाई पेसामै रहेर आत्मनिर्भर हुनका लागि यो तालिम बढी उपयोगी हुने बताउनुभयो । उहाँले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये पर्वतमा मात्र यस्तो कार्यक्रम रहेकोले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र बढिभन्दा बढी ज्ञान हासिल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका उपाध्यक्ष माया अधिकारी, नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल, प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी लगायतले बोल्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री र सञ्चालन सचिव साजन परियारले गर्नुभएको थियो । दुई दिन सम्म सञ्चालन हुने तालिमको सहजीकरण नेपाल अनलाइन पत्रकार सङ्घका पूर्व अध्यक्ष प्रवेश सुवेदीले गर्नुहुने भएको छ । तालिममा तीस जनाको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासङ्घको ७० औँ स्थापना दिवसको अवसरमा आयोजित तालिम शनिवार समापन हुने छ । दिवसको अवसरमा महासङ्घ पर्वत शाखाले गुप्तेश्वर वेदवेदांग पाठशालामा विभिन्न सामाग्री सहयोगको कार्यक्रम समेत राखेको छ ।