धावनमार्गमा काश फुल्यो: आएन बलेवामा हवाईजहाज

पर्वत/नियमित जहाज उडानका लागि कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थलमा सेतै काँस फूलेको छ । ठाउँठाउँमा झार उम्रन थालेको छ । चारवर्ष अघि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्नेबारे भने कसैले चासो राखेका छैनन् ।

कच्ची छउन्जेल बेलाबेला जहाज आउने गरेकोमा पक्की भएपछि एकपटक पनि जहान अवतरण गरेको छैन । बागलुङ नगरपालिका १४ को नारायणस्थानमा रहेको बलेवा विमानस्थलको घेराबारमा खिया लागिसकेको छ । यहाँ पुग्नेले तारबार लगाएको स्थानबाट तस्बिर खिच्ने गर्छन् । कतिले कालोपत्रे मैदानको प्रसंसा गर्छन् । कतिपयले जहाज कहिले आउँछ भनेर सामाजिक संजालमार्फत प्रश्न तेर्स्याउँछन् । तर यो विमानस्थल कहिले चल्छ भन्ने जवाफ कसैसँग पनि छैन । निर्माण गरेर अलपत्र छोडिएपछि विमानस्थलमा काँस फूल्न लागेको बागलुङ नगरपालिका वडा नम्बर १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

जहाज चलाउने भन्दै निर्माण गरिएको विमानस्थल कसरी सञ्चालन हुन्छ भन्ने कसैलाई पनि जानकारी छैन । बलेवा विमानस्थलको काम हेर्ने पोखरा विमानस्थललाई पनि यो बारे जानकारी छैन । जहाज पठाउने नपठाउने अधिकार केन्द्रीय कार्यालय र महानिर्देशकसँग भएकोले पोखराका कर्मचारीले केही बताउन नसकिने उल्लेख गरे । यो विमानस्थलमा २०५० पछि जहाज चल्न छाडेको थियो । २०२२ सालदेखि २०५० सम्म नियमित जहाज चल्दा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाले काठमाडौं, पोखरा र भैरहवाका आउजाउ गर्ने सेवा पाएका थिए । पोखरा, बागलुङ राजमार्ग खुलेपछि जहाज उडान बन्द भएको थियो ।

२०७१मा तत्कालिन पर्यटनमन्त्री लोकेन्द्र बिष्टले जहाज चलाउने प्रयास गरेका थिए । स्थानीय तह गठनपछि बागलुङ नगरपालिकाले सिट क्षमताको आधारमा खाली भएमा शुल्क तिर्ने गरी झण्डै ४ महिनासम्म जहाज चल्यो । साताको दुइवटासम्म उडान भर्दा नगरपालिकाले झण्डै २० लाख बढी रकम सिट क्षमताको आधारमा तिरेपछि बन्द भएको थियो ।

नगरको अगुवाइमा नेपाल नागरिक उड्ययन प्राधिकरणले धावनमार्ग कालोपत्रे गरेको छ । कालोपत्रे बनेपछि भने विमानस्थल सञ्चालनमा कसैले पनि चासो देखाएका छैनन् । ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कंपनी’ २०७८ को बैसाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा बलेवा विमानस्थल कालोपत्रे गरेको थियो । करिब ७ सय मिटर लम्बाइ कालोपत्रे सहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मीटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रंगरोगन समेत लगाएपछि जहाज उडाउने पहल भने नभएको हो ।

२०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले यो विमानस्थल खनेर निर्माण गरेका थिए । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाकालागि नियमित उडान चल्ने गरेकोमा सडकले ठप्प भएको स्थानीय कृष्णबहादुर खड्काले बताए । तत्कालिन पर्यटनमन्त्री बिष्ट र शिक्षामन्त्री दिनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाउन नेपाल एयरलाइन्सको जहाज चढेर यहाँ उत्रेका थिए ।