कुर्घामा दुध संकलन केन्द्रमा आगलागी हुँदा झण्डै ५० लाखको क्षति

पर्वत/फलेवास नगरपालिका वडा नं १० कुर्घामा रहेको जिल्लाकै ठुलो दुग्ध संकलन केन्द्रमा आगालागी भएको छ । आइतवार राती ९ बजेको समयमा भएको आगालागीवाट झण्डै ५० लाख रुपैया को क्षति पुगेको छ । स्थानीय हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थाले संचालन गरेको संकलन केन्द्रको भवनमा जडान गरिएको विद्युत सट हुँदा आगालागी भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सहकारीका संस्थाका अध्यक्ष गंगादेवी चापागाईका अनुसार आगालागीवाट केन्द्रमा रहेका ५/५ लाख मुल्यका एक हजार लिटरका दुईवटा चिलिङ भ्याट दुध चिस्याएर राख्ने ट्याङ्की, भवन भित्र पार्किङ्ग गरी राखिएका चारवटा मोटरसाईकल, कम्युटर एक थान, गाईलाई खुवाउने चोक्कर २२ बोरा, दुध परिक्षण गर्ने मेशिन, तीन सय लिटर दुध, व्याट्रि, कुर्चि र वायरिङ पणर् रुपमा नष्ट भएको छ । सहकारीको बिमा भने नगरिएको अध्यक्ष चापागाईले बताए ।

दुग्ध संकलन केन्द्रमा कार्यरत कर्मचारीहरु भवनवाट बाहिरईसकेकाले मानविय क्षति भने हुन नपाएको उनले बताए । यो सहकारीमा फलेवास नगरपालिकाका कुर्घा, लिमिठाना, पाङराङ ठानामौला, महाशिला गाउँपालिकाको लुंखुदेउराली लगायतका क्षेत्रका बासिन्दाले नियमित रुपमा दुध संकलन गर्दै आएका थिए । यहाँ संकलित दुध सदरमुकाम कुश्मा र पोखरासम्म पुर्‍याउने गरिएको थियो । आगालागीले पुणर् रुपमा क्षति पुगेपछि सोमवारदेखि दुध संकलन कार्य प्रभावित बनेको छ ।

आगालागी भएको खबरपछि फलेवास प्रहरी चौकीवाट पुगेको प्रहरीको टोली र स्थानीयवासीको पहलमा राती साढे १२ बजेट आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले बताए । उनका अनुसार घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।

सहकारीका संस्थापक तथा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले आगालागीवाट कृषकहरुले ठुलो नोक्सानी व्यहोर्नुपरेको गुनासो गरिन् । उनले उक्त सहकारीमा भएको घटनाको क्षतिपुर्तिएका लागि नगरपालिका र अन्य सम्वन्धित निकायमा पहल गर्ने बताए ।

फलेबास नगर स्तरीय कृषि सजालका अध्यक्ष बिनोद भुसालले तिनै तहका सरकारले यसको क्षतिपूर्ति दिनुपर्ने माग राखे । उक्त आगलागीको घटनाको सत्य तथ्य छानबिन गर्न समेत उनको माग छ ।