असोज २७, पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले नेकपाको दुईतिहाई बहुमतको सरकारले जनतालाई अधिकार सम्पन्न गराउनुको सट्टा जनताको अधिकारलाई कुण्ठित गरेको वताउनु भएको छ ।
नेता जोशीले नेपाली काँग्रेस जलजला गाउँ कार्य समितिले शुक्रवार पर्वत बेनीमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उक्त कुरा वताउनु भएको हो ।
केन्द्रीय सदस्य जोशीले केपी ओली नेतृत्वको सरकारसँग स्पस्ट बहुमत हुँदाहुँदै दुईतिहाई बहुमतको पछि लागेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनु भयो । उहाँले नेकपाको दुईतिहाई बहुमतले मुलुकका संवैधानिक निकायलाई निष्तेज पार्नेस अतिवाद लाद्ने र संघीयतालाई असफल पार्ने दावी समेत गर्नुभयो । नेता जोशीले कम्युनिष्ट सरकारले चुनाबअघि जनतामा बाँडेका झुट्टा आश्वासन र उधारा सपनाले उसको आयु छोटिँदै गएको उल्लेख गर्दै अब कम्युनिष्ट पार्टीको घर भत्किने निश्चित भएको वताउनु भयो । ‘कम्युनिष्टहरूको घर भत्किने निश्चित छ तर त्यो घर भत्किँदा हामी आफ्नो घर बलियो बनाऊँ किनकि त्यहाँ बेघर भएकाहरू हाम्रो घरमा ओत लाग्ने वाताबरण बनोस ।’– नेता जोशीले भन्नुभयो ।
त्यसैगरि एक अर्को प्रसंगमा बोल्दै नेता जोशीले नेपाली काँग्रेस पार्टीभित्र पनि अहिले हाकुचा प्रवृत्ति हावी भएकोले जनता र कार्यकर्ताका बीचमा लोकप्रिय भएर नेता हुनेभन्दा नेतृत्वलाई सरापेर र अफ्ठ्यारो पारेर चर्चामा आउन केही व्यक्तिहरू लागेको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस एक भएर अघि बढ्दा पर्वत सँधै काँग्रेसमय हुने दावी समेत गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका पूर्व सभापति लालकाजी गुरूङले कम्युनिष्टहरूको ओरालो यात्रा शुरू भइसकेको वताउँदै काँग्रेसका सबै नेता कार्यकर्ताहरू एक भएर संगठन निर्माणमा क्रियाशील हुन सुझाव दिनुभयो । सांसद गुरूङले पर्वतको विकास र समृद्धिका निम्ति आफ्ना पनि केही सपनाहरू भएपनि सरकार अर्कैको भएकोले काम गर्न कठिनाइ भएको वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कार्यवाहक सभापति दुर्गाबहादुर खत्रीले काँग्रेस कमजोर भयो भनेर अहिले आम कार्यकर्ताहरूमा निराशा पैदा भएको उल्लेख गर्दै दशैंलगत्तै पार्टीको बैठक बसेर पार्टीले नयाँ कार्यदिशा तय गर्ने जानाकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरूङ, पार्टीका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारी,
कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति नेत्रबहादुर महत, पूर्व जिविस उपसभापति राम शर्मा पौडेल, राष्ट्रिय सभाका उमेद्वार जीतबहादुर नेपाली, नेवि संघका सहमहामन्त्री हरिहर शर्मा, नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष यमप्रसाद शर्मा, नेकपाका प्रतिनिधि लालबहादुर अधिकारी र नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण लगायतले पार्टी संगठनका विभिन्न बिषयमा आ–आफ्ना भनाईहरू राख्नुभएको थियो ।
नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन चित्रराज रेग्मीले गर्नुभएको थियो ।






