पर्वत/नेकपा एमाले पर्वतको दशौँ जिल्ला अधिबेशन कुश्मामा उद्घाटन भएको छ । पहिलो दिन हिजो उद्घाटन भएको कार्यक्रममा आज र भोली बन्दसत्र हुने भएको छ । बन्दसत्रमा पार्टीको दस्ताबेज र प्रतिबेदन उपर छलफल हुने भएको छ भने नयाँ नेतृत्व चयन हुने जनाईएको छ ।
अधिबेशनको नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा बिकसित गर्ने बताउनुभयो । राजनीति प्रति जनताको विश्वास गुम्न थालेकोमा चिन्ता व्यक्र गर्दै पौडेलले एमालेले विकृत राजनीति लाई आशाको रुपमा परिणत गर्न खोेजेको दाबी गर्नुभयो ।
पछिल्लो समय नेपाली काँग्रेसले संसद अवरुद्ध गर्दा नागरिकका मुद्धा आझेलमा परेको पौडेलले बताउनुभयो । उहाँले एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिब पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिब गोकर्ण विष्ट, पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी, कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, नेकपा एमालेका नेता विकास लम्साल, केन्द्रीय सदस्य कल्पना चापागाई, गोविन्द नेपाली, प्रदेश अध्यक्ष नवराज शर्मा, मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर विश्वकर्मा पौडेल लगायतले सम्वोधन गर्नुभएको थियो ।
नेकपा एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत जिल्ला उपाध्यक्ष पदमपाणी शर्माले गर्नुभएको थियो भने सञ्चालन सचिव गोबिन्द गिरी पहाडीले गर्नुभएको थियो ।
अधिवेशनमा आज देखि बन्द शत्र शुरु हुँदैछ । बन्द शत्रमा अध्यक्ष राजु पौडेलले सांगठनिक तथा राजनैतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल सहित निर्वाचनका कार्यक्रमहरु आज नै सार्वजनिक हुने एमालेले जनाएको छ ।






