बागलुङको निसिखोलामा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु

बागलुङ/मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७, उपचारको लागि बुर्तिवाङ लैजाने क्रममा १ जनाको मृत्यु भएको हो । घटनामा २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार मृतक ३ महिला र ५ पुरुष छन् । उनीहरुको नाम ठेगाना भने खुलेको छैन ।

रुकुम पश्चिमबाट सोमबार बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा उक्त स्थानमा दुर्घटनामा परेको थियो । उक्त बस सडकदेखि १ सय ५० मिटर तल खसेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार बिकले बताए । बस भिर र खोंचमा खसेकोले उद्दारमा समेत कठिनाइ भएको थियो ।

प्रहरी निरीक्षक बिकको नेतृत्वमा गएको उद्दार टोलीले सुरुवातमा खोजी उद्दार गरेपछि रुकुम पूर्वबाट प्रहरी निरीक्षक हरि भट्टराइको नेतृत्वमा आएको १८ जनाको प्रहरी टोलीले थप मद्दत गरी घाइते र मृतक निकालेको थियो । ७ वटा शव प्रहरीले रुकुम पश्चिम लगेको छ । मृतकको आफन्तलाई बुझाउन र सनाखतका लागि सहज बनाउन शवहरु पश्चिम लगिएको भट्टराईले जानकारी दिए । एउटा शव बुर्तिवाङमा रहेको छ ।

घाइतेहरुको भने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भएको हो । अधिकांश गम्भीर घाइते भएकोले रातीनै पोखरा पुर्‍याउने काम सुरु भइसकेको छ । उद्दारका लागि सदरमुकाम बागलुङबाट एम्बुलेन्स, प्रहरी र सेनाका गाडी बुर्तिवाङ गएका छन् ।

घटनापछि अध्यारो भएकोले खोजी उद्दारमा कठिनाइ भएको थियो । घाइतेलाई उपचारमा पठाउन तथा घटनास्थलको थप सुरक्षा र उद्दारका लागि बिपत व्यवथापन गुल्म बागलुङबाट २० जना, नेपाली सेनाको घोडाबाँधे व्यारेकबाट सहसेनानी चिबबहादुर बुढाथोकीको नेतृत्वमा २५ जनाको उद्दार टोली घटनास्थल गएको थियो ।

घटनास्थल सदरमुकाम देखि १ सय ३० किमी पश्चिम पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले बताए ।