नेपाली काँग्रेस मोदीको प्रथम सम्मेलन सम्पन्न: पार्टी संगठन चुस्त बनाउन नेतृत्वको निर्देशन

पर्वत/नेपाली काँग्रेस मोदी गाउँपालिकाको प्रथम गाउँपालिकाका सम्मेलन शनिबार पातिचौरमा सम्पन्न भएको छ । सम्मेलनमा बोल्ने विभिन्न नेताहरूले पार्टीको सांगठनिक अवस्था, अबको कार्यदिशा र रणनीतिक योजनाहरूको विषयमा समीक्षा गर्नुका साथै पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन मातहतका समितिहरूलाई निर्देशन समेत दिएका छन् । सम्मेलनको उदघाटन नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं महिला नेतृ मिना केसीले गर्नुभएको थियो । सम्मेलन उद्घाटन पछि बोल्दै केसीले काँग्रेस कार्यकर्तामा आएको निराशालाई उत्साहमा परिणत गर्न नेतृत्वले गाउँ गाउँमा पुगेर सांगठनिक गतिविधि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डाक्टर चूडामणि शर्माले काँग्रेसलाई सशक्त पार्दै जिल्लामै पहिलो पार्टी बनाउन टोलदेखि वडा, पालिका, प्रदेश तहका सबै संरचनाहरू सक्रिय भएर लाग्नुपर्ने वताउँदै काँग्रेसका अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न पार्टीले तुरून्त जिल्लाव्यापी प्रशिक्षणको कार्यक्रम अघि सारेको जानकारी दिनुभएको थियो ।

त्यसै गरि अर्का उपसभापति शिवप्रसाद सुवेदीले नेपाली काँग्रेस भित्र एकले अर्कोलाई दोषी देखाएर आफू जिम्मेवारीबाट पन्छिने गलत प्रवृति हावी भएको उल्लेख गर्दै पदीय जिम्मेवारीमा बसेर आफ्नो कर्तव्य पुरा नगर्ने नेता कार्यकर्तालाई पदमा बस्ने नैतिक आधार पनि नहुने वताउनु भयो । उहाँले काँग्रेसलाई रचनात्मक र थप व्यवस्थित गर्न सबै कार्यकर्ताले दिएको सुझावलाई पार्टी नेतृत्वले सँधै स्वीकार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी सचिव गुप्तनिधि शर्माले पार्टीले अघि सारेका सांगठनिक कार्ययोजनाको विषयमा प्रकाश पार्दै वडातहदेखि शुरू भएका सम्मेलनको औचित्य र उदेश्यको विषयमा समेत जानकारी दिनुभएको थियो । सोही कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रामबहादुर प्रसाई, जिल्ला कार्य समिति सदस्य ओमप्रसाद शर्मा घायल, जिल्ला कार्य समिति सदस्य गणेशबहादुर क्षेत्री, मोदी ६ तिलाहारका वडा अध्यक्ष दीपेन्द्रजंग लामिछाने, वडा नं ७ का पार्टी सभापति नारायण गौतम, वडा नं ६ तिलाहारका सभापति लक्ष्मण श्रेष्ठ, मोदी ५, बाजुङका वडा अध्यक्ष मानबहादुर अधिकारी, बाजुङका पूर्व सभापति कृष्ण प्रसाद शर्मा, मोदी २, देउपुरका पूर्व सभापति देवराज गिरी, वडा नं ८ का उपसभापति वुद्धिमान विक, तिलाहारका टोल कार्यसमितिका सभापति गणेश केसी लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस मोदी गाउँपालिकाका सभापति निर्देश लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपसभापति तिलकप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियोभने कार्यक्रमको संचालन सचिव कृष्ण मल्लले गर्नुभएको थियो ।