पर्वत/स्थानीय तहको न्याय सम्पादनलाई प्रभावकारी र विश्वसनीय बनाउने अभिप्रायले जलजला गाउँपालिकामा मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभुत तालिम सुरु भएको छ । ग्लोबल एड्भोकेसी नेपाल, ललितपुरको प्राविधिक सहयोग जलजला गाउँपालिकाको आयोजनामा विहिवारदेखि शुरू भएको तालिमको पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन पछि बोल्दै जिल्ला न्यायाधीश श्रेष्ठले मेलमिलापकर्ताहरूले प्रभावकारी काम गर्न सकेमा गाउँ घरमा हुने, सानातिना विवाद र झैझगडाहरू वडा र बस्तीमै निरूपण हुने दावी गर्नुभयो । ‘घरगाउँमै विवाद निरुपण भए, प्रहरी प्रशासन र अदालतसमक्ष धाउनु पर्दैन, समय र खर्चको समेत बचत हुन्छ ।’- न्यायधीश श्रेष्ठले भन्नुभयो ।
तालिमले न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै वस्तीस्तरमा मेलमिलापकर्ता तयार पार्ने विश्वास गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक दिपक आचार्य (आकाश)ले जानकारी दिनुभयो ।
स्थानीय तहकको न्याय सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त तालिममा पालिकाका प्रत्येक वडाबाट ४/४ जनाका दरले जनप्रतिनिधिहरूको सहभागीता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन सत्रमा म्याग्दीका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपाल, पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजु ढुंगाना, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी लगायतले बोल्नुभएको थियो । जेठ २५ गतेसम्म सञ्चालन हुने उक्त तालिमलाई एडभोकेसी नेपालका विनिता गुरूङ र सुमना पौडेलले सहजीकरण गर्नुहुनेछ । तालिमको उद्घाटन न्यायिक समितिका संयोजक तथा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको सभापतित्वमा भएको थियो ।






