पार्टीलाई संकट परेको बेला साथ दिने कार्यकर्ताको भविष्यमा मूल्यांकन हुन्छ- जोशी

पर्वत/नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई अफ्ठ्यारो परेको बेला सहयोग गर्ने कार्यकर्ताको भविष्यमा उचित मूल्यांकन हुने वताउनु भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस पर्वतको सातौं जिल्ला अधिवेशनको कुश्मामा उद्घाटन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको हो । उहाँले पार्टी नेतृत्वविरूद्ध सामाजिक सञ्जालमा अनर्गल टिप्पणी गर्ने समूहले पार्टीलाई कमजोर गराएको र कार्यकर्ताको मनोबल घटाउन दुरुत्साहन गरेको वताउँदै पार्टीप्रति गुनासो भए पार्टीकै आन्तरिक फोरममा कुरा उठाउन सुझाव दिनुभयो ।

नेता जोशीले पछिल्लो समय काँग्रेसमा आएको निराशा र विचलनले आफ्नो पनि ध्यानाकर्षण भएको वताउँदै क्षणिक आवेग र उत्तेजनामा आएर पार्टीप्रति विद्रोह गर्नु उपयुक्त नभएको दावी गर्नुभयो । ‘यो हावाहुरी हो, यसको न कुनै इतिहास छ, नत भविष्य नै, त्यसैले काँग्रेसलाई रूपान्तरण गर्ने र काँग्रेसकै घर बलियो बनाउनतिर लाग्नोस्, काँग्रेसमै देशको र तपाईं हाम्रो भविष्य सुरक्षित छ ।’- नेता जोशीले भन्नुभयो । उहाँले आफू सवार डुङ्गामा प्वाल पर्यो भनेर अर्को डुङ्गामा हाम फाल्नुभन्दा आफ्नै डुङ्गाको प्वाल टाल्नु वुद्धिमानी हुने धारणा समेत राख्नुभयो । नेपाल ट्रेड युनियन काँग्रेसको सम्बन्धमा बोल्दै संविधानसभा सदस्य जोशीले ट्रेड युनियन काँग्रेसमा आवद्ध सबै संस्थाहरू पनि पार्टीकै अंग भएकोले काँग्रेसको भविष्य निर्माणको लागि जुट्न सबै ट्रेड युनियनकर्मीहरूलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले ट्रेड युनियनलाई वास्तविक श्रमजीवी र मजदूरहरूको संगठन बनाउन सुझाव दिँदै सिमान्तकृत बर्गले स्वामित्व नलिएसम्म ट्रेड युनियन काँग्रेसको लक्ष्य र उदेश्य पुरा नहुने वताउनु भएको छ । सहमहामन्त्री जोशीले काँग्रेसको पार्टी संगठनमा आएको निराशालाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्दै केन्द्रदेखि जिल्ला र पालिकासम्म काँग्रेस कार्यकर्ताहरूको भावनालाई बुझेर पार्टी सुदृढिकरणमा आ-आफ्नो तर्फबाट योगदान गर्न सबैलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले आफ्नासँग लड्ने र विरोधीसँग कुमार जोडेर भोट हाल्ने प्रवृतिले काँग्रेसको संगठन धराशायी भएको वताउँदै आफ्नो पार्टीको पक्षमा एक भएर उभिँदाको दिन विरोधीहरू समाप्त भएर जाने दावी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछाने, नेपाली काँग्रेसका उपसभापति डाक्टर चूडामणि शर्मा, पार्टी सचिव गुप्तनिधि शर्मा, जलजला गाउँ पालिका अध्यक्ष एवम् जिल्ला सदस्य राजुप्रसाद अाचार्य, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधा कुवँर क्षेत्री, नेपाल महिला संघ पर्वतका अध्यक्ष मुना शर्मा लामिछाने, नेपाली काँग्रेसका क्षेत्रीय सभापति राजकुमार क्षेत्री, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका संस्थापक अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी पर्वतका अध्यक्ष रुद्रबहादुर रिमाल शिक्षक संघ पर्वतका अध्यक्ष यज्ञप्रसाद वास्तोला, स्वास्थ्यकर्मी संघ पर्वतका अध्यक्ष यमप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव गोविन्द सुवेदीले गर्नुभएको थियोभने कार्यक्रममा स्वागत मन्तव्य युनियनका उपाध्यक्ष मोति चुवाईंले गर्नुभएको थियो । नयाँ नेतृत्वको लागि भएको अधिवेशनमा अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष सुरेन्द्र केसी सहित गोविन्दप्रसाद पोख्रेल, पूर्णकुमार श्रेष्ठ र गोविन्द सुवेदीको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक हरिनारायण रेग्मीले जानकारी दिनुभयो । नेतृत्वका लागि सर्वसहमतिको प्रयास भएको बुझिएको छ ।