असुरक्षित बैंकिङ क्षेत्र ः दुई कर्मचारीमाथि आक्रमण

पर्वत/जलजला गाउँपालिकामा दुई जना बैंकका कर्मचारीमाथि आक्रमण भभएको छ । एनआइसी एसिया बैंकको बेनी शाखामा कार्यरत कर्मचारीमाथी बिहिबार दिउँसो कुटपिट भएको हो । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथी भौतिक आक्रमण भएको बैंकले जनाएको छ ।

आक्रमणबाट प्रकाश आलेको टाउकोमा चोट लागेर पाँच टाका लगाइएको छ भने थप उपचारका लागि पोखरा लगिएको छ । प्रबन्धक सापकोटा सामान्य घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरको सटर लगाएर कोठाभित्र थुनि नियोजित रुपमा कुटपिट भएको स्थानीयले बताएका छन् । पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बैंक कर्मचारी कुटपिटको घटनामा संलग्न जलजला गाउँपालिका २ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भैरहेको उहाँको भनाई छ ।

बैंकका कर्मचारीमाथी भएको आक्रमण र ज्यादती विरुद्ध शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम बनाएको बैंकर्ष संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बताउनुभयो । सरकारले बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई सुरक्षा दिन निर्देशन दिएका बेला दिनदाहाडै कर्मचारीमाथि आक्रमण भएको हो । यसैबीच बैंक सञ्चालकहरुको संस्था सीबीफीनले म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको घटना प्रति निन्दा व्यक्त गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्दै सापकोटा र आलेमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।