मुलुकको समृद्धिको लागि ग्रामीण पर्यटन विकासमा जोड दिऔँ- राष्ट्रपति भण्डारी

पर्वत/राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धिको लागि ग्रामीण पर्यटनमा जोड दिनुपर्ने धारणा राख्नु भएको छ । राष्ट्रपति भण्डारीले वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँको भनाई छ । पर्यापटनको विकासले ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउनुभयो ।

पर्वतको जलजला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थल हम्पाल लेकको अवलोकनमा आउनुभएका भण्डारीले पर्यटकीय स्थलहरूको प्रचारप्रसार र गन्तव्यको पहिचानमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको हो । राष्ट्रपति भण्डारीले पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन पनि गर्नुभएको छ । उक्त अवसरमा पर्यटन मार्फत समृद्धि हाँसिल गर्न सकिने बताउँदै राष्ट्रपति भण्डारीले ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर उकास्न पनि ग्रामीण पर्यटनले योगदान गर्न सक्ने बताउनुभयो ।

पर्वतमा सरकारले एक सय गन्तव्यको रुपमा सूचिकृत गरेको स्थानमा पूर्वाधार विकास गर्न स्थानीय तहले पहल गर्न भण्डारीले आग्रह गर्नुभयो । पहिलो पटक पर्वतको हम्पाल आउनुभएका भण्डारीले यहाँको दृश्यअवलोकनले आफू मन्त्रमुग्ध भएको बताउनुभयो । पर्वत जिल्ला पर्यापर्यटनको विकासमा धेरै सम्भावना भएको जिल्ला भएकाले सरोकारवालाहरुले यहाँको विकासमा विशेष ध्यान दिनुपर्ने भण्डारीले सुझाव दिनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको हम्पाल क्षेत्र र जलजला क्षेत्रको विकासमा आफु जिल्ला विकास समितिको सभापति हुँदै राष्ट्रियसभाको अध्यक्ष भएदेखि सहयोग गर्दै आएको स्मरण गर्नुभयो । हम्पालमा पर्यटक ल्याउन जलजला गाउँपालिकाले थालेको पहल प्रशंसनीय रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

कार्यक्रममा संविधानसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण जलजलाको कालाञ्जरको विकासले जिल्लाको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेता जोशीले आफू विगतमा लामोसमय जनप्रतिनिधि हुँदा शुभारम्भ भएको सडक, खानेपानी, सिंचाई, कृषि र पर्यटन लगायतका क्षेत्रमा केन्द्र सरकार र प्रदेश सरकारले अझै प्रयाप्त बजेट विनियोजन गर्न नसकेकोले विकासको गति ढिलो भएको गुनासो गर्नुभयो । संविधानसभा सदस्य जोशीले आफू जनप्रतिनिधि हुँदा वा नहुँदा पनि जिल्लाको विकास समृद्धिको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दै विकासमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने धारणा राख्नुभयो । उहाँले गाउँपालिकाको पहलमा कालाञ्जर क्षेत्रमा राज्यका महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थितिले यस क्षेत्रको धार्मिक पर्यटनमा ठूलो सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू मल्लाजकै माटोमा जन्मेर राज्यको महत्वपूर्ण पदमा पुगेकोले यहाँको विकासमा आफ्नो पनि चासो रहेको वताउनुभएको थियो । सोही कार्यक्रममा कार्यक्रमका सभापति एवं जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलाको कृषि, पर्यटन र पूर्वाधार विकासको लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको थियो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन युवा समाजसेवी नविन जिसी र स्वागत मन्तव्य जब्बरबहादुर लामिछानेले गर्नुभएको थियो।